मकवानपुर – साल्ट ट्रेडिङ कर्पोरेसन मकवानपुरले चाडपर्वलाई लक्षित गर्दै कार्यालयबाट गरिहेको सुपथ मूल्यमा खाद्यान्न बिक्रीका क्रममा आठ लाख रुपैयाँ बढीको बिक्री गरेको छ। सरकारको निर्देशनअनुसार गत असोज १ गतेदेखि कार्यालयमा उपलब्ध नुन, चिनी, तेल र मैदा तोकिएको छुट मूल्यमा बिक्री गरिएकामा दसैँ बिदाको अवधिसम्म आठ लाख रुपैयाँ बढीका खाद्यान्न सामान बिक्री भएको कार्यालय प्रमुख मधुसुधन अधिकारीले जानकारी दिए।
उनका अनुसार सर्वसाधारणलाई समान रूपमा छुटको सुविधा उपलब्ध गराउने उद्देश्यले प्रतिव्यक्ति छ पोका नुन, छ किलो चिनी, पाँच लिटर तेल र पाँच किलो मैदा उपलब्ध गराइएको थियो। बजारको प्रचलित मूल्यभन्दा चिनीमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा दुई रुपैयाँ, मैदामा सात रुपैयाँ र तेलमा प्रतिलिटर सात रुपैयाँ छुट दिइएको उनले बताए। त्यसअनुसार यस अवधिमा ६० बोरा (प्रत्येक बोरामा ५० किलो तौल भएको) चिनी, १० क्विन्टल नुन, सात क्विन्टल पिठो÷मैदा र ५०० लिटर तेल बिक्री गरिएको कार्यालयले जनाएको छ।
चाडपर्व लक्षित सुपथ मूल्यमा बिक्री गर्नेक्रम कात्तिक मसान्तसम्म सञ्चालन हुने कार्यालय प्रमुख अधिकारीले जानकारी दिए। साल्ट ट्रेडिङले गत असोज १ गतेदेखि दसैँ, तिहार तथा छठपर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले विर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरेको छ।






About Us
प्रतिक्रिया