आज विजया दशमी, बिहान १०:२६ बजे टीकाको साइत


काठमाडौं । नेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत आज दसौं दिन अर्थात विजया दशमी। बडा दसैंको महत्वपूर्ण दिनकारुपमा रहेको आजको दिनलाई विजया दशमीकारुपमा मनाइन्छ। आज देशैंभर अग्रजहरुबाट टिका र जमरा थापेर मनाउने प्रचलन छ।

आश्विन शुक्ल दशमीका दिन मनाइने यस पर्वमा मान्यजनबाट देवीको प्रसादस्वरूप टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने परम्परा छ।

नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजया दशमीको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ। समितिले देवी विसर्जनको साइत भने बिहान ८ बजेर ४९ मिनेटका लागि निर्धारण गरेको छ।

विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि शुभ साइतमै टीका लगाउन चाहनेहरूका लागि बिहान १०ः२६ बजेको समय उत्तम मानिएको छ। समितिका अनुसार साइतमा टीका लगाउँदा टीका लगाइदिने मान्यजन पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पश्चिमतर्फ फर्कनुपर्ने छ।

दशैंमा नवदुर्गा भवानीको पूजा–आराधना गरी देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहिआएको छ। यस अवसरमा परिवारका सदस्य तथा आफन्तजन एकै ठाउँमा भेला भई मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिने गर्छन्।

नेपालमा राष्ट्रिय चाडका रूपमा मनाइने बडादशैंको मुख्य दिन विजया दशमीमा विशेष रूपमा टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ। कतिपय स्थानमा भने कोजाग्रत पूर्णिमासम्मै मान्यजनबाट टीका तथा आशीर्वाद थाप्ने प्रचलन रहेको छ।