काठमाडौं – काठमाडौं उपत्यकामा फरक कम्पनीका खाना पकाउने एलपी ग्यासका सिलिन्डर बिक्री वितरण गर्ने स्थान थप गरिएको छ। आइतबार ६ स्थानबाट सुरु गरिएको ग्यास साटफेर व्यवस्था सोमबारदेखि ११ स्थानमा तोकिएको छ। दसैँका बेला ग्यास अभाव झेलिरहेका उपभोक्तालाई सहज बनाउन नेपाल आयल निगमको समन्वय र ग्यास बिक्रेता महासंघको सहकार्यमा वितरण केन्द्र थप गरिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ।
संघका अनुसार सोमबारदेखि काठमाडौंको चपली बुढानीलकण्ठमा भानु, ललितपुरको हरिसिद्धिमा नेपाल र एचपी, कलंकीमा गीता, खसीबजारस्थित आरके ट्रेडर्समा सीताश्री र सन्तुगलमा श्रीमाया ग्यास साट्ने व्यवस्था थप गरिएको छ। यसअघि आइतबारदेखि ललितपुरको हरिसिद्धिमा श्रीराम, काठमाडौंको कलंकीमा साइबाबा र श्रीकृष्ण तथा सुकेधारामा बाबा र श्री ग्यास उपलब्ध गराउने व्यवस्था मिलाइएको थियो।
त्यस्तै, बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी, पेप्सीकोलामा सगर तथा सिफलचौरस्थित ग्यास एन्ड अक्सिजन ट्रेडर्सबाट एभरेस्ट र सुगम ग्यास साट्ने व्यवस्था गरिएको थियो। तोकिएका ११ वितरण केन्द्रमा उपभोक्ताले आफूसँग भएको जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर उपलब्ध अर्को कम्पनीको भरिएको सिलिन्डर लिन सक्नेछन्। यसरी फरक कम्पनीको सिलिन्डर साटेबापत अतिरिक्त शुल्क तिर्नुपर्ने छैन। तोकिएको स्थानबाहेक अन्य स्थानबाट ग्यास साटफेर गर्न नसकिने संघको भनाइ छ।
संघका अनुसार यो व्यवस्था ३० असोजसम्म बिहान ११ बजेदेखि अपराह्न साढे ४ बजेसम्म सञ्चालन हुनेछ। यसअघि संघले ३१ असोजसम्म बिहान साढे ९ बजेदेखि अपराह्न साढे ४ बजेसम्म ग्यास साटफेर गर्न सकिने जनाएको थियो। आइतबार पहिलो दिन विभिन्न कम्पनीका ३ हजार ७५ सिलिन्डर बिक्री वितरण भएको संघले जनाएको छ।






About Us
प्रतिक्रिया