जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न, बक्यौता दाबी गर्न २१ दिनको हदम्याद


काठमाडौं – सरकारको पूर्ण स्वामित्वमा रहेको जनकपुर चुरोट कारखाना लिमिटेडले सरोकारवालालाई दाबी पेस गर्न २१ दिने सूचना निकालेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको कारखानाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (डीडीए) सम्पन्न भएपछि बक्यौता र दायित्व फरफारकका लागि सूचना जारी गरिएको हो। 

कारखानाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै कारोबार गर्ने ग्राहक, कर्मचारी तथा अन्य सरोकारवालालाई प्रमाणसहित दाबी पेस गर्न भनेको छ। ‘कुनै निकायबाट भएको फैसला वा निर्णयबमोजिम लिनदिन पर्ने हरहिसाब भएमा’, कारखानाको सूचनामा भनिएको छ, ‘जग्गा रोक्का, बीमा वा कर्मचारी सेवा सुविधासम्बन्धी कुनै दाबी भएमा २१ दिनभित्र सम्पर्क गर्नुपर्नेछ।’ 

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२/१०/१५ को निर्णयअनुसार कारखानामा रहेको सरकारी लगानीको व्यवस्थापन गर्ने प्रयोजनार्थ अर्थ मन्त्रालयबाट खटिएको विज्ञ टोलीमार्फत कारखानाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन सम्बन्धी कार्य सम्पन्न भइसकेको सूचनामा उल्लेख छ।