बुढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए


गाेरखा – बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको मनास्लु संरक्षण क्षेत्र हिँडेका पर्यटक गन्तव्यमा पुग्न नसकी बिचैमा रोकिएका छन्। मनास्लु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार सबै पर्यटक सुरक्षित स्थानमा रहेको र उद्धारका लागि पहल भइरहेको छ।

मनास्लु संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने चुमनुब्री गाउँपालिका–३ जगतमा १०० भन्दा बढी विदेशी पर्यटक रोकिएको उनले बताए। ‘शनिबार ९८ जना विदेशी पर्यटक संरक्षण क्षेत्रमा प्रवेश गर्नुभएको थियो, रातिसम्म जगत् आइपुगेका अन्य पर्यटक त्यहीँ सुरक्षित रूपमा रहनुभएको छ’, संरक्षण अधिकृत ओझाले भने, ‘हेलिकप्टरबाट उद्धारका लागि पहल भइरहेको छ।’

बाढीले मनास्लु जाने मुख्य पदमार्ग, झोलुङ्गे पुललगायतमा क्षति पुर्‍याएका कारण पर्यटकको आवतजावत रोकिएको हो। चुमनुब्री–६ लोक्पामा पनि १७ जना पर्यटक उद्धारको पर्खाइमा रहेको उनले बताए । यस्तै चुम उपत्यका क्षेत्रको छेकम्पारमा ४० जना पर्यटक रहेको संरक्षण अधिकृत ओझाले बताए।

विदेशी पर्यटकसहित भरिया, पथप्रदर्शक पनि बिचैमा रोकिएकाले उनीहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्‍याउन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय भइरहेको ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए। ‘मनास्लु संरक्षण क्षेत्रमा कति पर्यटक छन् भनेर तथ्याङ्क लिने र उनीहरूको उद्धार तथा सुरक्षित आवागमनको सुनिश्चितताका लागि पहल भइरहेको छ’, उनले भने, ‘मुख्य पर्यटकीय याममा भइरहेका प्राकृतिक विपद्का घटनाले पर्यटन क्षेत्रमा असर पुगेको छ।’