संवैधानिक इजलास गठनमा वरिष्ठता वा गोलाप्रथा लागू गर्न बारको माग


काठमाडौं – नेपाल बार एसोसिएसनले संवैधानिक इजलास गठनमा वरिष्ठता वा गोलाप्रथा प्रणाली लागू गर्न माग गरेको छ। बारले बुधबार विज्ञप्ति जारी गर्दै संवैधानिक इजलास वरिष्ठताका आधारमा गठन गरिनुपर्ने र त्यस्तो सम्भव नभए वस्तुगत आधारमा गोलाप्रथा प्रणाली अपनाउनुपर्ने बताएको हो।

विज्ञप्तिमा संवैधानिक इजलास गठनलाई प्रधानन्यायाधीशको व्यक्तिगत तजबिजको विषय बनाउने प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाइएको छ। स्पष्ट, वस्तुगत र पूर्वनिर्धारित मापदण्डबिना न्यायाधीश छनोट गरिँदा न्यायिक निष्पक्षता तथा न्यायपालिकाको संस्थागत विश्वसनीयतामाथि प्रश्न उठ्ने बारको भनाइ छ। नेपाल बारले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कार्यकालमा इजलास गठन र न्यायिक प्रशासनमा देखिएको अपारदर्शी तथा मनोगत अभ्यासविरुद्ध न्याय क्षेत्र आन्दोलनमा उत्रिएको स्मरणसमेत गराएको छ।

बारले संवैधानिक इजलास गठनमा मनोगत, मापदण्डविहीन र स्वेच्छाचारी अभ्यास तत्काल अन्त्य गरी वरिष्ठता वा गोलाप्रथा प्रणाली लागू गर्न माग गरेको छ। न्यायपालिका व्यक्तिको इच्छा वा तजबिजका आधारमा नभई स्पष्ट नियम, निष्पक्ष पद्धति र संस्थागत मर्यादाअनुसार सञ्चालन हुनुपर्नेमा जोड दिँदै बारले आफ्नो संस्थागत सरोकारलाई बेवास्ता गरिए आवश्यक परे सशक्त संस्थागत प्रतिरोधमा उत्रने चेतावनी पनि दिएको छ।