यतिबेला नीलो आकाशमा रंगीचंगी चंगा उडिरहेका छन् । कतै पिङमा मच्चिरहेका छन् भने सहरमा अस्थायी बसोबास गर्नेहरू घर गाउँ फर्किसकेका छन्। घर–आँगन लिपपोत गरेर सफा बनाइएका छन्, भित्ताहरूमा नयाँ रङ पोतिएका छन्। हरेक घरका भान्सामा विभिन्न परिकारको मीठो खाना पाकिरहेका छन्। लामो समयपछिको भेटघाट र आत्मीयताले गाउँदेखि शहरसम्म उत्सव छाएको छ। सर्वत्र उल्लास छाएको छ, मनमनमा उमङ्ग पलाएको छ। त्यसैले त दसैँ आएको छ। नेपालीहरूको महान् चाड दसैँमा आफूभन्दा ठुला मान्यजनबाट टीका ग्रहण गरी आशीर्वाद लिने प्रचलन छ। आशीर्वादसँगै टिका लगाएर पाइने दक्षिणाको महत्त्व पनि उत्तिकै रहन्छ।
दसैँमा दक्षिणाको रूपमा हामी सबैलाई नयाँ वा सुकिला नोटले थप खुसी बनाउने गरेको छ। तर, के तपाईँले नोटको सुकिलोपन कायम राख्दै आउनुभएको छ त? पक्कै पनि छैन। दसैँको समयमा हामीलाई नयाँ नोट जसरी चाहन्छौँ त्यसलाई नयाँ नै राख्न भने हामी अधिकांशले हेलचेक्र्याइँ गरिरहेका हुन्छौँ। सर्वसाधारणले नोटको जतन नगरेकै कारणले नेपाल राष्ट्र बैंकले अर्बौँ मूल्यका नोटहरू नष्ट गर्दै आइरहेको छ। यस पटक पनि राष्ट्र बैंकले नयाँ नोट र सुकिला नोट बजारमा पठाएको छ।
दसैँको समयमा अत्याधिक नोटको प्रचलन हुने र नयाँ नोटका रातो रंग लाग्ने च्यातिने हुन्छ। नयाँको नोट प्रचलनमा ल्याउँदा राज्य कोषलाई बढी भार पर्न जान्छ । जसका कारण नयाँ नोट प्रयोग गर्दा हामीले विशेष सावधानी अपनाउन आवश्यक छ। यत्ति बुझेपछि अब कसरी नयाँ नोट तथा सकिला नोटको जतन गर्ने भन्नेबारे बुझौँ। नोटको जतन गर्ने हरेक नेपालीको दायित्व हो। आफूले घर ल्याउँदा जस्तै पैसा बैंकलाई फिर्ता गर्नुपर्ने हुन्छ। नोटको प्रयोग गर्दा विभिन्न सावधानी अपनाउनुपर्ने हुन्छ। नयाँ नोट छपाई गर्न ठुलो मात्रामा सम्पत्ति खर्चिनु पर्ने भएकोले नोटको जतन गरी देशको सम्पत्ति जोगाउने कर्तव्य हरेक नागरिकको हुन्छ।
राष्ट्र बैंकले पनि कारोबारको क्रममा शङ्कास्पद नोटहरू पाइएमा नजिकैको राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा लागि दाखिला गर्नुपर्ने बताउँदै आएको छ। यस्तै, केन्द्रीय बैंकले नोटलाई मठ–मन्दिर वा पूजा पाठ आदि धार्मिक कार्यमा प्रयोग गर्दा नोटमा रंग, अबिर, पानी, दूध, रगत आदि नपारौँ, बरु दान पेटिकामा हाल्ने वा सम्बन्धित धार्मिक अनुष्ठानको रसिद काटेर चन्दा प्रदान गर्ने चलन चलाउनुपर्ने बताएको छ।
नयाँ नोट जतन गर्नका लागि अनिवार्य रूपमा मनि ब्याग प्रयोग गर्ने, नोटमा जथाभाबी केरमेट नगर्ने, नयाँ नोट भन्दा सकेसम्म सुकिला नोटको प्रयोग गर्ने, नोटलाई माटो, धमिरा, आगो र पानीबाट जोगाउने, नोटलाई गाड्ने र धेरै समयसम्म पोको पारेर नराख्ने, नोटको हिफाजत गर्ने कुरा आफूले पनि मनन गर्ने र अरूलाई पनि सिकाउने, नोटको कारोबार गर्दा फोहोर गर्ने प्रवृत्तिलाई त्याग्ने, पूजाआजा गर्दा अथवा कुनै काम गर्दा मैलिएका हातले सकेसम्म नोट नछुने, नोटमा टाँचा वा स्टिच नलगाउने गर्नुपर्छ।






About Us
प्रतिक्रिया