विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी


काठमाडौं- विश्व लगानीकर्ता सप्ताह२०२६ को अवसरमा नेपाल धितोपत्र बोर्ड (सेबाेन) को आयोजना तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपाल को सहकार्यमा देशका तीन प्रमुख शहरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ। विश्व लगानीकर्ता सप्ताहको पहिलो दिन आश्विन १९ गते पोखरा, विराटनगर र सुर्खेतमा एकैसाथ प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको हो। पूँजी बजार, लगानी तथा लगानीकर्ताको अधिकार र हितसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

पोखरामा आयोजित कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्ट प्रमुख अतिथिका रूपमा उपस्थित भई प्रभातफेरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा करिब ६०० जनाको सहभागिता रहेको थियो। त्यस्तै, विराटनगरमा बोर्डका कार्यकारी निर्देशक विनयदेव आचार्यको प्रमुख आतिथ्यमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा करिब ३५० जनाको सहभागिता रहेको थियो। सुर्खेतमा बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको थियो, जहाँ करिब ४०० जनाको उपस्थिति रहेको थियो।

प्रभातफेरी कार्यक्रममा नेपाल धितोपत्र बोर्डका कर्मचारी, धितोपत्र दलाल व्यवसायी, मर्चेन्ट बैंकर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, लगानीकर्ता तथा पूँजी बजारसँग सम्बन्धित विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो। विश्व लगानीकर्ता सप्ताहको अवसरमा आयोजना गरिएको प्रभातफेरीले पूँजी बजारप्रति सर्वसाधारणको बुझाइ अभिवृद्धि गर्नुका साथै लगानी गर्नुअघि आवश्यक जानकारी हासिल गर्ने, सम्भावित जोखिम पहिचान गर्ने तथा सचेत र जिम्मेवार लगानी गर्ने संस्कृतिको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

विश्व लगानीकर्ता सप्ताह आश्विन १९ गतेदेखि २५ गतेसम्म एक साताभर मनाइँदैछ। सप्ताहका क्रममा पूँजी बजारसम्बन्धी वित्तीय साक्षरता अभिवृद्धि तथा लगानीकर्ता सचेतना बढाउने उद्देश्यले देशका विभिन्न स्थानमा पूँजी बजारसम्बन्धी प्रशिक्षण कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता, प्रस्तुतीकरण प्रतियोगिता, प्यानल डिस्कर्सन लगायतका विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ।