काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशका सातै प्रदेशमा सञ्चालन गरेको ‘स्टार अवार्ड २०८२-८३’ कार्यक्रमको शृङ्खला सफलतापूर्वक सम्पन्न गरेको छ। उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई सम्मान, प्रोत्साहन तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममार्फत देशभरका १ हजार ६४ जना उत्कृष्ट प्रदर्शनकर्ताहरूलाई अवार्डबाट सम्मानित गरिएको हो।
गत असोज ४ गते इटहरीबाट सुरु भई असोज १५ गते पोखरामा सम्पन्न भएको यस कार्यक्रम इटहरी, बर्दिबास, बुटवल, नारायणगढ, काठमाडौं , धनगढी र सुर्खेतमा भव्य रूपमा आयोजना गरिएको थियो। कार्यक्रममा देशभरबाट कुल २ हजार ५८१ जना उत्कृष्ट अभिकर्ता तथा एजेन्सी म्यानेजरहरूको सहभागिता रहेको थियो। सबै शृङ्खलामा मोटिभेसन तथा सेल्स प्रशिक्षक किशु झाले व्यावसायिक सीप विकाससम्बन्धी प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रममा बोल्दै नेपाल लाइफका सीईओ प्रवीणरमण पराजुलीले अभिकर्ता सञ्जाल कम्पनीको व्यवसाय विस्तार र ग्राहक सम्बन्धको मेरुदण्ड भएको बताए। उनले अभिकर्ताहरूलाई अनुशासन, जिम्मेवारी र उच्च व्यावसायिक आचरणसहित अगाडि बढ्न आग्रह गर्दै हालैको प्राकृतिक विपद्बाट प्रभावित अभिकर्ता तथा बीमितहरूको पहिचान गरी आवश्यक सहयोगको पहल भइरहेको जानकारी दिए।
कार्यक्रममा नेसनल सेल्स हेड उमापति पोखरेल, पेसागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष ओमबहादुर केसी, बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीलगायतले सम्मानित अभिकर्ताहरूलाई बधाई दिँदै बीमा बजारको विस्तार तथा सेवा प्रवाहमा निष्ठापूर्वक लाग्न आग्रह गरेका थिए। नेपाल लाइफले यो अभियानलाई केवल सम्मानमा मात्र सीमित नराखी अभिकर्ताहरूको ज्ञान, प्रेरणा र क्षमता विकासको प्रभावकारी मञ्चका रूपमा सञ्चालन गरेको जनाएको छ।






About Us
प्रतिक्रिया