उच्च ब्याजदरले थिचियो वायुसेवा निगम, आम्दानीको ठूलो हिस्सा ब्याज तिर्नमै खर्च

' १३ करोड ७५ लाख रुपैयाँ बक्यौता बाँकी'


काठमाडौं – उच्च ब्याजदरको ऋण र सरकारी निकायबाट उठ्न बाँकी रकमका कारण नेपाल वायुसेवा निगम वित्तीय संकटमा परेको छ। निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीका अनुसार कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणमा क्रमशः ९.२५ र १०.५ प्रतिशत ब्याज तिर्नुपरेको छ।

निगमले निजी बैंकहरूबाट कम ब्याजदरमा ऋण लिने प्रस्ताव पाएपनि सञ्चय कोषको ऋण पूर्ण चुक्ता गरेपछि मात्र अन्य वित्तीय संस्थामा जान सकिने सर्तका कारण ती प्रस्ताव उपयोग गर्न सकेको छैन। कालाखेतीका अनुसार ऋण पुनर्संरचना र ब्याजदर घटाउन सके निगमलाई नाफामा लैजान सहज हुन्छ।

यस्तै, राष्ट्र प्रमुखको विदेश भ्रमण, कोभिडकालीन उद्धार तथा विभिन्न रेस्क्यु उडानबापत सरकारबाट निगमले १३ करोड ७५ लाख रुपैयाँ पाउन बाँकी छ। बक्यौता रकम भुक्तानी नहुँदा नगद प्रवाहमा समस्या परेको निगमले जनाएको छ।