कुवेतमा ड्रोन आक्रमणमा परी एक नेपालीको मृत्यु


कुवेत – कुवेतको उत्तरी क्षेत्रमा भएको ड्रोन आक्रमणमा परी एक नेपाली नागरिकको मृत्यु भएको छ। कुवेतमा सवारी चालकको रूपमा कार्यरत तेह्रथुम जिल्लाका ४४ वर्षीय सोम कुमार तामाङको उक्त आक्रमणमा परी  निधन भएको हो।

कुवेतस्थित नेपाली राजदूतावासका अनुसार बिहीबार भएको ड्रोन आक्रमणमा तामाङको ज्यान गएको हो। यस घटनाका बारेमा कुवेतको परराष्ट्र मन्त्रालयले दूतावासलाई आधिकारिक जानकारी गराएको छ। राजदूतावासले आज एक विज्ञप्ति जारी गर्दै मृतकको शव कानुनी प्रक्रिया पूरा गरी यथाशीघ्र नेपाल पठाउन आवश्यक समन्वय र सहकार्य भइरहेको जनाएको छ।

पछिल्लो विकसित परिस्थितिलाई ध्यानमा राख्दै राजदूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। दूतावासले कुवेत सरकारद्वारा जारी गरिएका सुरक्षा सम्बन्धी सम्पूर्ण मापदण्डहरूको पूर्ण पालना गर्न, संयमित हुन र सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ।