काठमाडौं – नेपाल राष्ट्र बैंकले निष्क्रिय खाताको संख्या कम गराउन एक निर्देशन नै जारी गरेको छ। केन्द्रीय बैंकले निष्क्रिय खाताको संख्या न्यूनीकरण गर्ने सम्बन्धमा नयाँ व्यवस्था गरेको हो।
बैंक तथा वित्तीय संस्थाले आफूसँग रहेका निष्क्रिय खातालाई न्यून गर्ने सम्बन्धमा कार्य योजना बनाएर २०८३ पुस मसान्तसम्ममा लागू गर्नुपर्नेछ। बैंक तथा वित्तीय संस्थामा रहेका सक्रिय खाता निष्क्रिय हुनु पूर्व कल, मेसेज र इमेल लगायतका माध्यमबाट ग्राहकलाई नियमित रूपमा जानकारी गराउने व्यवस्था गर्नु पर्नेछ। बैंक तथा वित्तीय संस्थाले निष्क्रिय खाता सक्रिय गराउनको लागि कम्तीमा ६ महिना अवधिको अन्तरालमा कल, मेसेज र इमेल लगायतका माध्यमबाट सम्बन्धित ग्राहकहरूलाई अनुरोध गर्नुपर्ने र सोको अभिलेख समेत राख्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ।
यस्तै, बैंक तथा वित्तीय संस्थामा रहेका खाताहरू सम्बन्धित संस्थाको नेपालभरका जुनसुकै शाखा कार्यालय वा मोबाइल वेव एप्लिकेसनमार्फत समेत ग्राहकले सहजरुपमा बन्द गर्न सक्ने व्यवस्था गर्नुपर्ने बताएको छ। साथै, यसरी ग्राहकले उपस्थित भई वा कल, मेसेज र इमेलमार्फत ग्राहकले खाता बन्द गर्न अनुरोध गरेको खण्डमा उक्त खातामा रहेको मौज्दात निजले अनुरोध गरेको अन्य बैंक तथा वित्तीय संस्थामा रहेको निजको खातामा रकमान्तर गरी खाता बन्द गरिदिनुपर्नेछ।
राष्ट्र बैंकका अनुसा रबैंक तथा वित्तीय संस्थाको नेपालभरका जुनसुकै शाखा कार्यालयबाट समेत ग्राहक पहिचान गरी सहजरुपमा खाता पुनः सक्रिय गर्न सक्ने व्यवस्था गर्नुपर्नेछ। वित्तीय संस्थामा रहेका निष्क्रिय भई पुनः सञ्चालन भएका खातामा हुने अस्वाभाविक कारोबारको निगरानी गर्ने प्रणालीको विकास गर्नुपर्ने उल्लेख छ।
नयाँ सर्कुलरअनुसार बैंक तथा वित्तीय संस्थामा रहेका निष्क्रिय खाता, सोको प्रयोग गरी हुनसक्ने मनी म्यूल कारोबार तथा वित्तीय अपराधको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्न नियमितरुपमा विभिन्न सामग्री निर्माण गरी प्रसारण गर्नुपर्नेछ। बैंक तथा वित्तीय संस्थामा भएका खाताहरूबाट हुनसक्ने मनी म्यूल क्रियाकलापको पहिचान तथा सोको न्यूनीकरण प्रयोजनार्थ कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्नेछ।






About Us
प्रतिक्रिया