पूर्वतयारी सहित मनसुनजन्य विपद् व्यवस्थापनमा नेपाल प्रहरी


काठमाडौं – नेपाल प्रहरीले मनसुनजन्य विपद्‌का घटनाहरूमा जनधनको क्षति हुन नदिन एवम् उद्धार कार्यलाई प्रभावकारी बनाउन आवश्यक पूर्व तयारी सम्पन्न गरेको छ । विपद्‌को अवस्थामा तत्काल परिचालन हुनेगरी नेपाल प्रहरी प्रधान कार्यालयदेखि चौकी स्तरसम्मका प्रहरी इकाईमा आवश्यक उपकरण सहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ । 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाइमा सुरक्षा निकायहरूको सहभागितामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले यस वर्षको ‘मनसुनजन्य विपद् पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८३’ स्वीकृत गरेको छ । सोही कार्ययोजना बमोजिम नेपाल प्रहरीले ‘विपद् मनसुन पूर्व तयारी तथा प्रतिकार्य कार्ययोजना, २०८३’ निर्माण गरी कार्यान्वयनमा ल्याएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भने, ‘समाजमा शान्ति सुरक्षा कायम गर्न अहोरात्र खटिरहेन नेपाल प्रहरी विपद् व्यवस्थापनमा पनि सक्रिय छ । विपद् व्यवस्थापनमा प्रभावकारी जनशक्ति परिचालन र कुशल उद्धारका लागि आवश्यकता अनुसार अन्य सम्बन्धित निकायहरूसँग समन्वय गरिएको छ । विशेष गरी मनसुनजन्य विपद् हुनसक्ने जोखिमयुक्त क्षेत्र र सुरक्षित स्थानको जिल्लागत रूपमा पहिचान गरिएको, विपद्‌को प्रकृति अनुसार उद्धार सामाग्रीहरूको मर्मत सम्भार गरी तयारी अवस्थामा राखिएको र तत्काल परिचालन हुने गरी प्रहरी चौकी स्तरसम्मका प्रहरी इकाईहरू तयारी हालतमा रहेका छन् ।’

विपद्को अवस्थामा तत्काल परिचालन हुने गरी विपद् विशष्टिकृत कार्यालयहरू नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा २ प्लाटुन र प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्ममा १र१ प्लाटुन उद्धार टोली २४ सै घण्टा उपकरण सहित तैनाथ रहने छन् । नेपाल प्रहरी प्रधान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् मातहत, प्रदेश प्रहरी कार्यालयहरू, सबै जिल्ला प्रहरी कार्यालयका साथै प्रहरी चौकी स्तरसम्मका प्रहरी इकाईहरूमा विपद् प्रतिकार्यका लागि १०,०८५ जना तत्काल परिचालित हुनसक्ने गरी तयारी हालतमा रहने छन् । प्रभावकारी खोज तथा उद्धार एवम् व्यवस्थापनका लागि नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र र प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्महरूले आवश्यकता अनुसार तत्काल वा चरणबद्ध रूपमा प्रहरी परिचालन गर्नेछन् ।

काफ्ले भने, ‘मनसुन तथा भारी वर्षाको जोखिमलाई ध्यानमा राखी सबै सुरक्षा निकायहरूको सहभागितामा मनसुनजन्य उद्धार अभ्यासहरू गरिएको छ । जनधनको क्षति न्यूनीकरणको लागि वृहत् रूपमा सामुदायिक सचेतना कार्यक्रमहरू सञ्चालन गरिएको   छ । विपद् व्यवस्थापनमा त्रुटि रहित कार्यसम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई विपद् उद्धार सम्बन्धी अनुशिक्षण समेत प्रदान गरिएको छ ।’ 

नेपाल प्रहरीका विशिष्टीकृत इकाईहरूको रूपमा रहेका नेपाल प्रहरी अस्पताल, प्रदेश प्रहरी अस्पताल, सूचना तथा प्रविधि निर्देशनालय, सवारी महाशाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालय र नेपाल प्रहरी केनाईन कार्यालयको जनशक्ति समेत मनसुन पूर्व तयारी कार्य योजना अन्तर्गत रही आवश्यक समन्वय गरी तयारी अवस्थामा राखिएको छ । 

प्रशिक्षण प्रदायक कार्यालयहरू तथा विशिष्टीकृत इकाईहरूको जनशक्ति विपद्‌को समयमा परिचालित हुँदा उद्धार सामग्री नभएको खण्डमा नजिकको प्रहरी गण, विपद् विशिष्टीकृत कार्यालयबाट उद्धार सामग्रीहरू लिई परिचालित हुने छन् । विशेष परिस्थितिमा अपुग हुने उद्धार सामग्रीहरू आवश्यकता अनुसार स्थानीय तह, विभिन्न संघ—संस्थासँग समन्वय गरी व्यवस्थापन गरिने उल्लेख छ ।