काठमाडौं – नेपाल राष्ट्र बैंकले मोबाइलबाटै १० लाखसम्म कर्जा दिन पाउने व्यवस्था गरेसँगै साना तथा मझौला व्यवसायीलाई सहज भएको छ। ‘क्यास फ्लो’का आधारमा साना व्यवसायीलाई १० लाखसम्म कर्जा मोबाइलबाटै दिने व्यवस्था सुरु भएसँगै विनाधितो कर्जा लिनलाई सहज भएको हो।
यो व्यवस्थाले पैसाको अभावमा साना तथा मझौला व्यवसायीलाई व्यवसाय नै बन्द गर्नुपर्ने वा घरजग्गा धितो राखेर ८–१० लाख कर्जा लिनुपर्ने बाध्यात्मक व्यवस्थाबाट छुटकारा पाएका छन्। यसका लागि नेपाल राष्ट्र बैंकले दुई साता अघि सुर्कलर जारी गरेको थियो। सर्कुलरसँगै सबैजसो बैंक मोबाइलबाटै १० लाख रुपैयाँसम्म कर्जा वितरण गर्नेगरी आन्तरिक तयारीमा छन्। तर, कुमारि बैंकले भने सर्कुलर जारी भएलगत्तै मोबाइलबाटै साना तथा मझौला व्यवसायीलाई कर्जा प्रवाह सुरु गरेको हो।
यसबाहेक, सिद्धार्थ बैंक र लक्ष्मी सनराइज बैंकले समेत कर्जा प्रवाहको तयारी थालेका छन्। यद्यपी उनीहरुले यो व्यवस्थालाई सूचारु नै भने गरिसकेका छैनन्। साना, ठूला व्यवसायको ‘बिलिङ्ग सिस्टम’ ‘टेक्निकल सिस्टम’ उपलब्ध गराइरहेको आईएमएस सफ्टवेयरका अनुसार कुमारि बैंकले साना तथा मझौला व्यवसायीलाई मोबाइलबाटै १० लाख रुपैयाँसम्म कर्जा वितरण सुरु गरेको हो।
आईएमएस सफ्टवेयरका प्रबन्ध निर्देशक सन्तोष ताम्राकारका अनुसार हालसम्म केही व्यवसायीले ऋण समेत पाइसकेका छन्। ‘हामि विगतदेखि नै विनाधितो कर्जा प्रवाह गर्न पाउने व्यवस्याको माग गरिरहेका थियौं,’ ताम्राकारले बैंकिङ्ग समाचारसँग भने, ‘राष्ट्र बैंकले सर्कुलर जारी गरेसँगै कुमारिसँग मिलेर यो सेवा सुरु भइसकेको छ।’
खासगरी, टेक्निकल सर्भिस प्रोभाइडरले कारोबार हिस्ट्रि हेरेर साना तथा मझौला व्यवसायीलाई कर्जा दिनका लागि बैंक तथा वित्तीय संस्थालाई सहयोग गर्छन्। व्यवसायको बिलिङ्ग एकाउन्ट्स र सिस्टम म्यानेज गर्दै आइरहेको आईएमएसले समेत यही गर्छ। कारोबारको ट्रेन्डअनुसार आईएमएसले व्यवसाय सञ्चालकलाई ‘लोन इलिजिविलिटी’को सूचना पठाउँछन् र व्यवसायीले चाहेमा बैंकसमक्ष उनीहरुको डाटा सेयर हुन्छ। सोअनुसार बैंकले आफ्नो प्रक्रिया पुरा गरेर व्यवसायीलाई मोबाइल एपबाटै १० लाखरुपैयाँसम्म कर्जा दिन्छन्।
यो व्यवस्थाले साना तथा मझौला व्यवसायीको ‘सर्टटर्म क्यासफ्लो सर्टेज’ समाधान हुने ताम्राकार बताउँछन्। यस्तै, नेपाल राष्ट्र बैंककी सूचना अधिकारी सुधा श्रेष्ठका अनुसार सर्कुलर जारी भएसँगै बैंकहरुले कर्जा प्रवाह सुरु गर्न पाउने बताउँछिन्। यसका लागि बैंकहरुले विगतकै प्रक्रियाअनुसार कर्जा आवेदन गर्ने व्यवसायीलाई मोबाइलबाटै कर्जा दिन सक्ने उनको भनाई छ।






About Us
प्रतिक्रिया