काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा पाल्पाकी मेनुका ढुंगाना, सिन्धुपाल्चोकका सन्जु तामाङ, सिन्धुलीकी सुमित्रा कोइराला, रंजना कोइराला, गोरखाका सन्तोष तामाङ र मोरङका धात्री प्रसाद पोख्रेल रहेका छन्।
पक्राउमध्ये मेनुकाले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ७ लाख ५० हजार रुपैयाँ, सन्जुले ग्रिस पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ४३ लाख रुपैयाँ, सुमित्राले अष्ट्रेलिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रुपैयाँ, रंजनाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २ लाख रुपैयाँ, सन्तोषले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८४ हजार रुपैयाँ र धात्री प्रसादले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १२ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।






About Us
प्रतिक्रिया