निर्मला पन्त प्रकरण: १२ हजार जरिवाना तोकिएका पत्रकार भण्डारी पक्राउ 


काठमाडौं – पत्रकार खेम भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पक्राउ गरेको छ। उनलाई  गाली बेइज्जतीको मुद्दामा अदालतको फैसला कार्यान्वयनका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता टेकबहादुर रावतले बताए। 

जिल्ला अदालत कञ्चनपुरले उनलाई २०८२ जेठ १ गते गाली बेइज्जती मुद्दामा १ महिना ७ दिन कैद र १२ हजार १०० जरिवानाको फैसला सुनाएको थियो। पत्रकार किरण विष्टले उनीविरूद्ध मुद्दा दायर गरेका थिए। 

जिल्लाको फैसलाविरुद्ध भण्डारी उच्च अदालत गएका थिए। उच्च अदालत दिपायलको महेन्द्रनगर धनगढी इजलासले २०८२ चैत २२ गते जिल्ला अदालतकै फैसला सदर गरेको थियो।  सोही आधारमा उनलाई पक्राउ गरी अदालतमा पेश गरिएको रावतले बताए।

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दामा पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले १ जेठ २०८२ मा दोषी ठहर गरेको थियो।