काठमाडौं – नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३ सुरु गर्ने भएको छ । केन्द्रीय बैंकले वित्तीय ग्राहकको सन्तुष्टिको स्तर मापन गर्ने उद्देश्यका साथ ७७ वटै जिल्लामा सबै प्रकारका स्थानीय तह समेटी ग्राहक सन्तुष्टि सर्वेक्षण गर्न लागेको हो ।
र्यान्डम स्याम्पलिङ विधिबाट वडा छनोट गरी जम्मा १०,४०५ वटा नमुना सङ्कलन गरिनेछ । यो सर्वेक्षणबाट वित्तीय सेवाको पहुँच, गुणस्तर, पारदर्शिता, गुनासो व्यवस्थापन, वित्तीय ग्राहक संरक्षण तथा समग्र वित्तीय सेवासम्बन्धी वित्तीय ग्राहकहरूको धारणा र अनुभव सङ्कलन गरिने केन्द्रीय बैंकले उल्लेख गरेको छ ।
सर्वेक्षणबाट प्राप्त नतिजाले वित्तीय ग्राहक संरक्षण तथा वित्तीय सेवाका गुणस्तर अभिवृद्धिसम्बन्धी नीति, कार्यक्रम तथा नियामकीय व्यवस्थामा सुधार गर्न सहयोग पुर्याउने अपेक्षा केन्द्रीय बैंकको छ । सर्वेक्षणलाई प्रभावकारी र विश्वसनीय बनाउन सम्बन्धित सबैमा यथार्थ तथा निष्पक्ष जानकारी उपलब्ध गराउन राष्ट्र बैंकले आग्रह गरेको छ । सर्वेक्षणमा सहभागिता स्वेच्छिक हुनेछ र सहभागीले असहज लागेका प्रश्नहरूको उत्तर दिन अस्वीकार गर्न सक्नेछन् । सर्वेक्षणमा सङ्कलित विवरण तथा जानकारीहरू तथ्याङ्क ऐन, २०७९ अनुसार गोप्य राखिनेछ र केवल सामुहिक रुपमा तथ्याङ्कीय प्रयोजनको लागि मात्र प्रयोग गरिन उल्लेख छ ।






About Us
प्रतिक्रिया