काठमाडौं – प्रतिनिधिसभा सदस्य हरि ढकालले शेयर कारोबारमा १ प्रतिशत कर लाग्ने हल्ला मात्रै भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले फैलिएको भ्रमप्रति लगानीकर्ताको ध्यानाकर्षण गराउँदै दोस्रो बजारको शेयर कारोबारमा कुनै नयाँ १ प्रतिशत शुल्क नलाग्ने कुरालाई स्पष्ट पारेका हुन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘दोस्रो बजारमा कारोबार गर्दा लाग्ने अन्तिम कर भनेको पुँजीगत लाभकर ७.५ प्रतिशत वा १० प्रतिशत नै हो।’ त्यस्तै उनले १ प्रतिशत शुल्क भने २५ लाख रुपैयाँ वा सोभन्दा बढी मूल्यको शेयर अफ–मार्केट अर्थात् कम्पनीमा सिधै नामसारी हुने निश्चित प्रकृतिका कारोबारमा मात्र लाग्ने व्यवस्था भएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्,’ त्यसैले, टीएमफ मार्फत नियमित कारोबार गर्ने लगानीकर्ताले १ प्रतिशत अतिरिक्त शुल्क तिर्नुपर्छ भन्ने कुरा सही होइन, नियमित कारोबार टीएमफ मार्फत हुने दैनिक कारोबारमा पहिलेकै व्यवस्था अनुसार ब्रोकर कमिसन, सेबाेन शुल्क, डीपी शुल्क र पुँजीगत लाभकर मात्र लाग्छ।’
ढकालका अनुसार अफ–मार्केट कारोबारबारे व्यवस्था धितोपत्र बोर्ड वा नेपाल सरकारको नीतिअनुसार बकस पत्र, मृत्युपछिको नामसारी, कम्पनीको आन्तरिक ठुलो शेयर स्थानान्तरणलगायत निक्षेप तथा राफसाफ प्रणालीमार्फत सिधै हुने नामसारीमा मात्र लागू हुन्छ। उनले यस सम्बन्धमा अहिले फैलाइएको होहल्लाले लगानीकर्तामा अनावश्यक अन्योल र डर सिर्जना गरेको छ कुरालाई स्पष्ट पारेका छन्। साथै, उनले हल्लाको पछि नलाग्न, आधिकारिक जानकारीका आधारमा सत्य र यथार्थ बुझेर मात्र निष्कर्ष निकाल्न र संयमित भएर कारोबार गर्ने र तथ्यमा विश्वास गर्न लगानीकर्तालाई आग्रह समेत गरेका छन्।






About Us
प्रतिक्रिया