बैंकिङ्ग डिस्कोर्श २०२६

‘कागजमा नक्सा कोर्ने केवाईसी प्रणालीलाई डिजिटल बनाउन धेरै काम गर्न बाँकी छ’


नेपालको वित्तीय क्षेत्रमा डिजिटल बैंकिङ्ग र फिनटेकको विकास तीव्र गतिमा भइरहेको छ। नबिल बैंकले सन् २०२० देखि नै फोन लोनको सुविधा दिँदै आइरहेको छ। आजभन्दा ६ वर्ष अगाडि नै फोनपेसँग सहकार्य गरेर नबिलले फोन लोन अर्थात् डिजिटल कर्जा लगानीको सुरुवात गरेको हो। हामीले यस्ता नवप्रवर्तनकारी विकास कर्जा लगानीमा मात्र सीमित नगरेर अन्य क्षेत्रमा पनि बिस्तार गरेका छौँ। पछिल्लो चरणमा नबिलले नबिल इन्भेस्टमेन्टको एसआईपी (एसआइपी) प्रडक्ट पनि नबिल बैंककै एपबाट गर्न सक्ने व्यवस्था अगाडि सारेको छ। नबिलका दुई वटा सब्सिडायरी कम्पनीहरू छन्, नबिल स्टक डिलर र नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग। उनीहरूका प्रडक्टहरू म्युचुअल फण्डदेखि लिएर सबै विषय मोबाइल एपबाट नै हुन सक्ने गरी हामीले डिजिटल पूर्वाधार तयार गरेका छौँ। अहिले शेयरको दोस्रो बजार कारोबार पनि एपबाट नै गर्न मिल्ने गरी काम अगाडि बढाइरहेका छौँ।

‘स्कोर कार्ड मोडल’ मा रिटेल कर्जाहरू कसरी सहजै लगानी गर्न सकिन्छ भनेर हामी विभिन्न काम गरिरहेका छौँ। डिजिटल बैंकिङ्ग र फिनटेकका क्षेत्रमा हाम्रा ग्राहकहरूको स्तर फरक फरक छ। कोही प्रविधिबारे निकै जानकार हुनुहुन्छ भने कतिपयलाई साना साना प्राविधिक विषयहरू समेत थाहा हुँदैन। त्यसैले, प्रविधिबारे जानकारी नभएका ग्राहकहरूलाई लक्षित गरेर हामीले विभिन्न जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छौँ। डिजिटल पूर्वाधारको क्षमता अभिवृद्धि भइसकेपछि अन्तर्राष्ट्रियस्तरमा रहेका नेपालीहरूको पहुँच बैंकिङ्ग प्रणालीमा विस्तार गर्न निकै सहज भइरहेको छ।

पछिल्लो समय विदेशमा बस्ने नेपालीहरूको आयस्रोत निरन्तर बढिरहेको छ। यस्तो अवस्थामा विदेशमा रहेका नेपालीहरूलाई हामीले डिजिटल्ली लगानी गर्न मिल्ने खालका इन्भेस्टमेन्ट प्रडक्टहरू दिनु आवश्यक छ। उहाँहरूले कमाएको पैसा हाम्रो क्यापिटल मार्केटमा भित्र्याउन सकियो भने यसको सकारात्मक प्रभाव समग्र अर्थतन्त्रमा पर्दछ। यही माध्यमबाट देश विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने लक्ष्यसहित हामीले काम गरिरहेका छौँ।

तर, डिजिटल रूपान्तरणको कुरा गरिरहँदा ‘डिजिटल केवाईसी’मा हामीले अझै धेरै काम गर्न बाँकी नै छ। अहिले बजारमा ‘म्यूल खाता’ (अर्काको नाममा खोलिने शंकास्पद खाता) देखि अनेकौँ चुनौतीहरू आइरहेका छन्। यसैबीच, हाम्रो हालको केवाईसी सिस्टम अत्यन्तै पुरानो र परम्परागत छ। अचेल गुगल म्याप (नक्सा) को जमाना छ, अनुहार पहिचान गर्ने (फेशियल रिकग्निसन) प्रविधिको कोण र मान्यता फरक भइसकेको छ। सबै सरकारी कार्यालयहरूमा डिजिटल बायोमेट्रिक उपलब्ध छ। तर,  विडम्बना, अहिले पनि बैंकिङ्ग प्रणालीमा खाता खोल्दा कागजमा हातले नक्सा बनाउनुपर्ने र केरमेट हुने अनि औँठाछाप नै लगाउनुपर्ने बाध्यता छ। यस्ता विषयहरूमा हामीले तत्काल सुधार गर्नुपर्ने अवस्था छ। डिजिटल केवाईसी सुधार्नका लागि आवश्यक प्रविधिहरू हामीसँग पर्याप्त छन्, मात्र त्यसै अनुसारको नियमन पनि समयसापेक्ष रूपमा आउनु आवश्यक छ।

अर्को गम्भीर विषय साइबर सुरक्षाको हो। यो प्रविधि मात्र नभएर हाम्रो संस्कृतिको कुरा पनि हो। अचेल डिजिटल ठगी (फ्रड) लाई एउटा उद्योगकै रूपमा सङ्गठित रूपमा सञ्चालन भइरहेको देखिन्छ। साइबर सुरक्षाका लागि हामीले समाजमा जति धेरै जनचेतना फैलाउन सक्छौँ, ठगीका घटना त्यति नै कम हुँदै जान्छन्। उदाहरणका लागि, नबिल बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गरेर कसैमाथि ठगी भयो भने के त्यो नबिल बैंकको मात्रै कमजोरी हो त? यो सिङ्गो प्रणाली कोसँग कनेक्टेड छ भनेर हेर्नुपर्छ। यो इसेवा, क्लियरिङ हाउसर अन्य बैंकहरूसँग जोडिएको हुन्छ। यसको मतलब, यो पुरै डिजिटल इकोसिस्टमको सवाल हो। त्यसैले साइबर अपराध र अनलाइन ठगी नियन्त्रणका लागि एउटा बलियो ‘सेन्ट्रल गभर्निङ’ निकाय आवश्यक भइसकेको छ।

अहिले प्रणाली नै ह्याक हुने घटना कम छन् तर प्रयोगकर्तालाई भ्रममा पारेर गरिने ठगीका घटना बढी छन्। यसले बजारमा डिजिटल जनचेतनाको चरम अभाव रहेको देखाउँछ। हामीले ग्राहकहरूमा चेतना बढाउनै पर्छ। जति पनि डिजिटल ठगीका घटनाहरू भइरहेका छन्, त्यसमा ९५ प्रतिशत ठगी मानिसहरूको लोभका कारण हुने गरेको छ। ठगी गर्ने संगठित गिरोहले मानिसलाई विभिन्न अफर वा चिट्ठाको लोभ देखाउन सक्दा नै बढी मानिसहरू यसको जालमा पर्ने गरेका हुन्। त्यसैले, एउटा बलियो इकोसिस्टम बनाएर काम गर्ने हो भने यस्ता साइबर ठगीहरूलाई निकै कम गर्न सकिन्छ।

बैंकिङ्ग प्रणालीमा एआई र आधुनिक प्रविधिको प्रयोगका लागि हामीलाई तथ्यांकको स्पष्टता र शुद्धता निकै आवश्यक पर्दछ। तथ्यांकलाई स्पष्ट पार्नु आफैँमा जटिल काम होइन, एउटा छुट्टै व्यवस्थापन समूह बनाएर डाटा क्लिन गर्न सकिन्छ। तर, यो धेरै हदसम्म ग्राहकमा पनि भर पर्छ। ग्राहक हाम्रो नियमित सम्पर्कमा छ कि छैन, नेपालमा छ वा विदेशमा छ, र नयाँ कानुनी नीति अनुसार उसका डकुमेन्टहरू पर्याप्त छन् कि छैनन् भन्ने कुराले डाटाको गुणस्तर निर्धारण गर्छ। यदि तथ्यांकको गुणस्तर सही भएन भने बैंकिङ्ग क्षेत्रमा एआई टुल्स प्रयोग गर्दा थप झन्झट र त्रुटिहरू सिर्जना हुन्छन्। 

त्यसैले तथ्याङ्क कुन तहसम्म स्पष्ट र शुद्ध छ भनेर बुझ्न आवश्यक हुन्छ। प्रायजसो नयाँ खोलिने खाताहरूको तथ्यांक स्पष्ट नै आउँछ। तर, प्रणालीमा रहेको पुरानो २० प्रतिशत बिग्रिएको तथ्याङ्कले पनि एआईको समग्र नतिजा नै परिवर्तन गरिदिन सक्छ। जसका कारण, तथ्याङ्कमा मात्रै केन्द्रित रहेर ढुक्कसँग काम गर्न सक्ने अवस्था अझै पनि पूर्ण रूपमा बनिसकेको छैन। यद्यपि, यो डिजिटल इकोसिस्टम बिस्तारै बन्दै जानेछ र तथ्याङ्कको गुणस्तरले आगामी नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ।

(नबिल बैंकका डिसीईओ बजगाईंले बैंकिङ्ग डिस्कोर्शको चौथो सत्र बैंकिङ्ग भविष्यः एआई, साइबर सुरक्षा र फिनटेक विषयक सत्रमा राखेको विचारको सम्पादित अंश)