सुस्ता जोगाउन भारतसँग कूटनीतिक पहल गर्न रास्वपा सांसद खनालको माग


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विक्रम खनालले नारायणी नदीको तीव्र कटानका कारण नवलपरासीको सुस्ता क्षेत्र अस्तित्वकै संकटमा परेको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद खनालले दशकौँदेखि नेपालको स्वाभिमान र सीमा रक्षा गर्दै आएका सुस्ताबासी अहिले आफ्नै बस्तीमा नदी कटानको त्रास र विस्थापनको जोखिम झेल्न बाध्य भएको बताए। सांसद खनालले समयमै प्रभावकारी कदम नचालिए सुस्ता क्षेत्र पूर्ण रूपमा बगरमा परिणत हुन सक्ने चेतावनी दिए।

सांसद खनालले आफूले संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गरी आवश्यक बजेट सुनिश्चित गराउन पहल गरेको उल्लेख गर्दै हाल भइरहेको संरक्षणका काम पर्याप्त नभएको बताए। उनले अल्पकालीन रूपमा कम्तीमा ४०० मिटर क्षेत्रमा दिनरात काम गरेर तत्काल समाधान खोज्नुपर्ने र करिब ३ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माणको काम बहुवर्षीय बजेटमार्फत तत्काल सुरु गर्नुपर्ने आवश्यकता औंल्याए।

सुस्ताको समस्या समाधानका लागि नेपालको प्रयास मात्र पर्याप्त नहुने भन्दै उनले भारतसँग कूटनीतिक तहमा प्रभावकारी संवाद आवश्यक रहेको बताए। उनका अनुसार नेपालले तल्लो तटीय क्षेत्रमा करिब ४ किलोमिटर तटबन्ध निर्माण गरे पनि भारतीय क्षेत्रतर्फको माथिल्लो भागबाट नदी कटान जारी रहे सम्पूर्ण सुस्ता क्षेत्र थप जोखिममा पर्नेछ।

‘सुस्ता सीमा विवाद दशकौँदेखि कायम छ, तर अहिलेको सबैभन्दा ठूलो चुनौती नदी कटान हो,’ सांसद खनालले भने, ‘भारतीय क्षेत्रबाट भइरहेको कटान रोक्न सरकारले कूटनीतिक पहल गरी आवश्यक तटबन्ध निर्माणको वातावरण बनाउनुपर्छ।’ सांसद खनालले सुस्ताको संरक्षणलाई राष्ट्रिय प्राथमिकताको विषयका रूपमा लिएर तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरे।