देशभर बकर इदको हर्षोल्लास (तस्बिरहरु)


काठमाडौं – मुस्लिम धर्मालम्बीहरुको महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिद तथा इदगाहमा हर्षोल्लासका साथ मनाएका छन्। पर्वको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। इस्लाम धर्मावलम्बीहरूले रमजान पर्व (इदुल फित्र) सम्पन्न भएको करिब ७० दिनपछि बकर इद मनाउने परम्परा रहिआएको छ।

इस्लामिक पात्रोअनुसार १२औँ महिना दिल हिज्जाको १०औँ दिन यो पर्व मनाइन्छ। यस दिन मुस्लिम समुदायका मानिस बिहानै स्नान गरी नजिकैका मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज अदा गर्छन्। नमाजपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गर्ने चलन छ।

बकर इदका अवसरमा मक्का–मदिना पुगेर हज गर्नु शुभ मानिन्छ। तर विभिन्न परिस्थितिका कारण विदेश यात्रा गर्न नपाएका धेरै श्रद्धालुले यस वर्ष घरमै बसेर पर्व मनाउने भएका छन्।

पर्वलाई धार्मिक मर्यादासहित सुरक्षित रूपमा मनाउन मस्जिद, इदगाह तथा अन्य धार्मिकस्थलमा आवश्यक सावधानी अपनाइएको छ। यस अवसरमा अल्लाहप्रति आस्था र समर्पण व्यक्त गर्न धर्मले जायज मानेका जनावरको कुर्बानी (बलि) दिने प्रचलन रहेको छ।

धार्मिक मान्यताअनुसार अल्लाहका नबी इब्राहिमले आफ्ना प्रिय पुत्रलाई कुर्बानी दिनुपर्ने आदेश पाएपछि पूर्ण समर्पणका साथ त्यसलाई स्वीकार गरेका थिए। उनको निष्ठा र विश्वासबाट अल्लाह प्रसन्न भई अन्ततः मानवको सट्टा जन्नतमा पालिएको दुम्बाको कुर्बानी भएको विश्वास गरिन्छ। यही घटनाको सम्झनामा मुस्लिम समुदायले बकर इदमा कुर्बानी दिने परम्परा कायम राखेका छन्।

धार्मिक विश्वासअनुसार इब्राहिमले सन्तान प्राप्तिको कामना गर्दै अल्लाहसँग मनोकामना गरेका थिए । सन्तान प्राप्त भएपछि कुर्बानी दिने उनको प्रतिबद्धता थियो। अल्लाहले उनको विश्वास र धैर्यको परीक्षा लिन सपनामार्फत आदेश दिएको र अन्ततः उनको आस्था सफल भएको धार्मिक कथन छ।

कुर्बानी गरिएको मासु तीन भागमा बाँड्ने परम्परा छ । एक भाग गरिब तथा विपन्न परिवारलाई, अर्को भाग आफन्त तथा इष्टमित्रलाई र तेस्रो भाग आफ्नै परिवारका लागि राख्ने धार्मिक मान्यता रहेको छ।