काठमाडौं – ब्लु क्रस हस्पिटलमा उपचार गराउने बिरामीहरूले अब ‘अहिले किन्ने, पछि भुक्तानी गर्ने’ (वान बीएनपीएल) प्लेटफर्ममार्फत शून्य ब्याजदरमा उपचार खर्च किस्ताबन्दी गर्न सक्ने भएका छन्। फिन्तारा सोलुसन्स प्रा. लि. र ब्लु क्रस हस्पिटलबीच यससम्बन्धी सहकार्य सम्झौता (एमओयू) सम्पन्न भएको हो।
फिन्तारा सोलुसन्सले नेपालको डिजिटल ईएमआई एग्रिगेसन प्लेटफर्म ‘वान बीएनपीएल’ सञ्चालन गर्दै आएको छ। सम्झौता अनुसार ब्लु क्रस हस्पिटलमा उपचार गराउने बिरामीहरूले ‘वान बीएनपीएल’ का साझेदार बैंकहरूको क्रेडिट कार्ड प्रयोग गरी ५ हजार रूपैयाँ वा सोभन्दा माथिको अस्पताल बिललाई ३ देखि १८ महिनासम्मको शून्य ब्याज किस्तामा रूपान्तरण गर्न सक्नेछन्। कम्पनीका अनुसार सम्पूर्ण प्रक्रिया डिजिटल, तत्काल र कागजरहित हुनेछ।
कम्पनीले यो सहकार्यले स्वास्थ्य सेवामा आर्थिक पहुँच बढाउने तथा उपचार खर्चको तत्काल बोझ कम गर्ने विश्वास लिएको जनाएको छ।सम्झौताअनुसार ३, ६, ९, १२, १५ र १८ महिनासम्मको लचिलो किस्ता सुविधा उपलब्ध हुनेछ। यो सेवा ‘वान बीएनपीएल’ का साझेदार बैंकका सबै क्रेडिट कार्डवाहकहरूका लागि लागू हुने बताइएको छ।
‘वान बीएनपीएल’ का साझेदार बैंकहरूमा ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, कुमारी बैंक, सिटिजन्स इन्टरनेसनल बैंक, प्रभु बैंक र एनएमबी बैंक रहेका छन्।फिन्तारा सोलुसन्सका प्रतिनिधि आशिष के शर्माले स्वास्थ्य उपचारका खर्च प्रायः आकस्मिक हुने भएकाले शून्य ब्याजदरको किस्ता सुविधाले बिरामीलाई राहत पुग्ने बताए। त्यस्तै, ब्लु क्रस हस्पिटलकी निर्देशक सती देवी गौतम सिंहले गुणस्तरीय तथा किफायती स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यअनुसार यो सहकार्य गरिएको उल्लेख गरिन्।



About Us
प्रतिक्रिया