काठमाडौं – सङ्घीय संसद् दुवै सदनको अधिवेशन यही वैशाख २८ गते सोमबारदेखि सुरु हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको अधिवेशन आगामी सोमबार दिउँसो २ बजे सिंहदरबारमा बस्ने गरी आह्वान गरिसकेका छन्।
सङ्घीय संसद्को नयाँ भवन निर्माण सम्पन्न नभएकाले यस पटक पनि प्रतिनिधिभाको बैठक निर्माणाधीन संसद् भवनको बहुउद्देश्यीय कक्षमा हुनेछ। राष्ट्रियसभाको पनि यसअघिकै संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमा यो अधिवेशन सञ्चालन हुनेछ।
नयाँ संसद् भवन निर्माणमा संलग्न ठेकेदार कम्पनीले आगामी जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने बेलासम्म प्रतिनिधिसभा कक्ष तयार गरी उपलब्ध गराउने मौखिक सूचना दिएको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
व्यवस्थितरुपमा नयाँ कक्षबाट बजेट प्रस्तुत गर्न पाइयोस् भनी संसद् सचिवालयले पनि अपेक्षा गरेको छ। निर्माणाधीन प्रतिनिधिसभा कक्षमा हाल रङरोगन, आन्तरिक सजावट तथा नवीनतम् उपकरण जडानलगायत प्राविधिक काम भइरहेको उनले बताए।
संसद्को यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम तथा राजस्वको आय–व्ययको विवरण प्रस्तुत हुनेछ। प्रि–बजेट छलफल, नीति तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयकमाथि छलफल हुनेछ।
अधिवेशनका क्रममा पछिल्लो समय जारी भएका अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक सभामा पेश भई अघि बढाइनेछ। सामान्यतया यसबीचमा जारी भएका अध्यादेश संसद्को पहिलो बैठक प्रस्तुत हुनेछ। पहिलो बैठक बसेको मितिले ६० दिनभित्र ती अध्यादेशको छिनोफानो हुनुपर्छ अन्यथा अध्यादेश स्वतः निस्क्रिय हुनेछन्।
प्रतिनिधिसभामा हाल राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त तीन विधेयक छन्। वैकल्पिक विकास वित्त व्यवस्थापनसम्बन्धी विधेयक, २०८३ प्रतिनिधिसभामा दर्ता छ। राष्ट्रिय सभामा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१ विधेयक रहेको छ। त्यस्तै विभिन्न संवैधानिक निकायका वार्षिक प्रतिवेदन र नियमावली मस्यौदा समितिको प्रतिवेदन पनि प्रतिनिधिसभामा थाँती छन्।



About Us
प्रतिक्रिया