मन्त्रिपरिषद्का निर्णय: राष्ट्रपतिबाट संयुक्त बैठक सम्बोधन गराइने


काठमाडौं – नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई रामचन्द्र पौडेलबाट सम्बोधन गराउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष वैशाख २८ गते सोमबार अपराह्न ४ बजे संयुक्त बैठकलाई सम्बोधन गर्न तथा त्यसका लागि संघीय संसद्का सदस्यहरूको उपस्थिति आह्वान गर्न अनुरोध गर्ने निर्णय गरेको हो।

बैठकले विदेशस्थित १५ जना नेपाली अनररी कन्सल जनरल तथा कन्सललाई पदमुक्त गर्ने निर्णय पनि गरेको छ। उक्त निर्णय परराष्ट्र मन्त्रालय को प्रस्तावमा गरिएको हो। सरकारले पदमुक्त गरिएका कन्सलहरूको नाम भने सार्वजनिक गरेको छैन। त्यसैगरी, मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय श्रम सङ्गठन अन्तर्गतको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ अनुमोदनका लागि संघीय संसद्मा पेस गर्न स्वीकृति दिएको छ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन को उक्त प्रोटोकल बाध्यकारी श्रम उन्मूलन तथा श्रमिक अधिकार संरक्षणसँग सम्बन्धित छ। यस्तै, बैठकले श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ नम्बर ८१ अनुमोदनका लागि पनि संघीय संसद्मा पेस गर्न स्वीकृति प्रदान गरेको छ।