काठमाडौं – नागरिकको जीवन रक्षा गर्ने जिम्मेवारी बोकेको प्रहरी संगठनभित्रै केही प्रहरी जवानहरू आत्महत्या जस्तो कठोर निर्णयमा पुग्ने गरेको तथ्यांक छ। पछिल्लो ६ आर्थिक वर्षमा ४८ जना प्रहरी कर्मचारीले आत्महत्या गरेको तथ्यांकले देखाएको छ। आत्महत्या गर्नेमा प्रहरी जवानदेखि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका कर्मचारी छन्।
नेपाल प्रहरीको तथ्यांकअनुसार सबैभन्दा धेरै आत्महत्या गर्नेमा प्रहरी जवान छन्। ६ आर्थिक वर्षको अवधिमा मात्रै २४ जना प्रहरी जवानले आत्महत्या गरेका छन्। त्यस्तै, प्रहरी सहायक हवलदार र प्रहरी हवलदार तहका कर्मचारीले पनि आत्महत्या गर्ने गरेको पाइएको छ । यस अवधिमा १–१ जना प्रहरी वरिष्ठ हवलदार, प्रहरी सहायक निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी वरिष्ठ नायव निरीक्षक तथा प्रहरी वरिष्ठ उपरीक्षकले पनि आत्महत्या गरेको तथ्यांकमा उल्लेख छ।
प्रहरीभित्र आत्महत्याका घटना बर्सेनि दोहोरिँदै आएका छन्। आर्थिक वर्ष २०७६/७७ मा ४ जना प्रहरीले आत्महत्या गरेका थिए। त्यसपछि आर्थिक वर्ष २०७७/७८ मा ८ जना, आर्थिक वर्ष २०७९/८० मा ७ जना, आर्थिक वर्ष २०८०/८१ मा ७ जना, आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा धेरै १४ जना र चालु आर्थिक वर्षकाे हालसम्म ८ जना प्रहरी कर्मचारीले आत्महत्या गरिसकेका छन्। औसतमा हरेक वर्ष ४ देखि ५ जना प्रहरी कर्मचारीले आत्महत्या गर्ने गरेको देखिन्छ।
प्रहरी संगठनभित्रको लामो ड्युटी समय, निरन्तरको कार्य दबाब, पारिवारिक दूरी, सीमित बिदा, माथिल्लो तहको दबाब र मानसिक स्वास्थ्यसम्बन्धी चेतनाको अभावले समस्या जटिल बन्दै गएको प्रहरी अधिकारीहरू बताउँछन्। बाहिरबाट अनुशासित र सशक्त देखिने प्रहरी संगठनभित्र व्यक्तिगत तनाव, आर्थिक समस्या, सम्बन्ध विच्छेद, भावनात्मक अस्थिरता र डिप्रेसनका समस्या मौन रूपमा बढिरहेको सङ्केत यी घटनाले दिएका छन्। मानसिक रोग विशेषज्ञ डा. सरोज ओझाकाअनुसार आत्महत्याको घटना अहिले मात्रै बढेको नभई पछिल्लो समय रिपोर्टिङ बढी हुन थालेको हो। उनकाअनुसार देशभरि नै आत्महत्याको मुख्य कारण आर्थिक समस्या, बेरोजगारी, सम्बन्धगत तनाव र आवेगजन्य निर्णय आत्महत्याका मुख्य कारण हुन्। ‘केही मानिसहरू अलि संवेदनशील हुन्छन्। आवेगमा आएर पनि यस्तो कदम चालिन्छ,’ उनले भने।

उनका अनुसार अहिले आत्महत्या रोकथामभन्दा पनि आत्महत्याका घटनाको अत्यधिक प्रचारप्रसारले नकारात्मक प्रभाव पारिरहेको छ। ‘कसैलाई यस्तो सोच आयो भने कहाँ सेवा लिने, कसलाई फोन गर्ने, कहाँ जाने भन्ने जानकारी नै कम छ,’ उनले भने। मानसिक स्वास्थ्यसम्बन्धी सेवा सहज रूपमा उपलब्ध नहुनु र सहयोग लिन सामाजिक रूपमा हिचकिचाउने प्रवृत्तिले पनि समस्या बढाएको उनको भनाइ छ।
डा. ओझाले सुरक्षाकर्मीहरूमा हुने आत्महत्याको कारण छुट्टै नभए पनि कार्यस्थलको तनाव, आन्तरिक टर्चर, पारिवारिक समस्या, आर्थिक दबाब र डिप्रेसनले ठुलो असर पार्ने बताए। उनले आत्महत्या न्यूनीकरणका लागि व्यापक जनचेतना, सकारात्मक सन्देश प्रवाह र मानसिक स्वास्थ्य सेवामा सहज पहुँच आवश्यक रहेको बताए।
ओझाका अनुसार नेपाली समाजमा मानसिक स्वास्थ्य समस्यालाई अझै पनि नकारात्मक रूपमा हेर्ने प्रवृत्ति छ। सहयोग खोज्ने व्यक्तिलाई कमजोर ठान्ने सामाजिक सोचका कारण धेरै मानिस उपचार र परामर्शबाट टाढा रहने गरेका छन्। यही कारण सुरक्षाकर्मीहरूजस्ता उच्च दबाबमा काम गर्ने समूह अझ बढी जोखिममा पर्ने गरेका छन्।
प्रहरीका तल्लो दर्जामा काम गर्न प्रहरी अधिकृतहरूको तलब पनि न्यून रहेको प्रहरी अधिकारीहरूको गुनासो छ। जसले गर्दा परिवारको जिम्मेवारी थेग्न नसकेर पनि यस्तो निर्णय लिन पुग्न गरेको उनीहरूको बुझाइ छ। देश र नागरिकको सुरक्षाका लागि दिनरात खटिने प्रहरीहरू आफैँ असुरक्षित महसुस गर्नु दुःखद पक्ष हो। प्रहरीमा प्रहरी जवानदेखि एसएसपीसम्मका प्रहरी अधिकृतहरूमा जागिर छाड्ने लहर चलेको छ।
मानसिक स्वास्थ्य परामर्श, नियमित मनोवैज्ञानिक सहयोग, र कामको वातावरण सुधार गर्न सके यस्ता घटनामा कमी ल्याउन सकिने विज्ञहरूको भनाइ छ। साथै, प्रहरी संगठनभित्र खुला संवाद र सहयोगी वातावरण निर्माण गर्नु पनि उत्तिकै आवश्यक रहेको बताउँछन्।
प्रहरी संगठनभित्र व्यक्तिगत तथा पारिवारिक तनावका कारण केही प्रहरी अधिकृतले यस्तो कदम चाल्ने गरेको प्रहरी प्रवक्ता अविनारायण काफ्लेले बताए। उनका अनुसार मानसिक समस्या, घरायसी तनाव तथा व्यक्तिगत जीवनमा आउने आर्थिक र सामाजिक झैझमेलाका कारण केही प्रहरी कर्मचारीले आफूलाई सम्हाल्न नसक्दा आत्महत्या जस्तो गम्भीर निर्णय लिने गरेका छन्। उनले भने, ‘आत्महत्या आफैँमा गर्नु नहुने विषय हो, तर पनि केहीले यस्तो गरेका हुन्छन्।’

काफ्लेले प्रहरी संगठनभित्र उपलब्ध सुविधाका हिसाबले कुनै कमी नरहेको दाबी गरेका छन्। उनका अनुसार प्रहरी कर्मचारीले पाउनुपर्ने सेवा–सुविधा, अभिभावकत्व तथा संस्थागत सहयोग उपलब्ध हुँदै आएको छ। उनले यस्ता घटनाहरू पेशागत कारणभन्दा पनि व्यक्तिगत जीवनमा आउने समस्यासँग बढी सम्बन्धित रहेको बताए। प्रहरी संगठनले मानसिक स्वास्थ्यबारे सचेतना अभिवृद्धि गर्ने तथा आवश्यक परामर्श सेवा विस्तार गर्ने प्रयास गरिरहेको पनि उनले जानकारी दिए।
एकातिर डिप्रेसनले आत्महत्याको ग्राफ बढिरहँदा अर्कातिर प्रहरी कर्मचारीमा कार्यविधि पूरा नगरी जागिर छाड्ने पनि बढेका छन्। पछिल्ला पाँच आर्थिक वर्षमा ५ हजार बढी प्रहरी कर्मचारीले स्वैच्छिक अवकाश लिएका छन्। जसमा तल्लो स्तरका कर्मचारीको संख्या अधिक छ।आत्महत्याको समग्र घटनामा मानसिक स्वास्थ्यप्रति जागरूकताको कमी, सामाजिक दबाब र पहुँचयोग्य मानसिक स्वास्थ्य सेवाको अभावले आत्महत्याको दर बढिरहेको छ।
साथै, प्रहरीमा प्रत्येक वर्ष जागिर छाड्नेहरूको पनि लर्को छ। प्रहरीमा तल्ला दर्जामा रहेको प्रहरीहरूमा यस्तो समस्या देखिन्छ। प्रहरीमा भन्दा अन्य क्षेत्रमा भन्दा राम्रो अवसर पाएकाले गर्दा पनि प्रहरीको जागिर छाडेको हुनसक्ने प्रहरीका प्रवक्ता काफ्लेको भनाइ छ। कतिपय प्रहरी अधिकृतले अन्तर्राष्ट्रियस्तरमा नै कुनै अवसर पाएको अवस्थामा पनि जागिर छाड्ने गरेको उनले बताए। प्रहरीमा तल्ला दर्जामा रहेकाहरूले निजामति सेवा तर्फ, सशस्त्र प्रहरी, आर्मीतर्फ माथिल्लो पदमा नाम निकालेर जाने गरेकाे उनी बताउँछन्।
साथै, प्रहरीले पछिल्लो समयमा बढ्दै गइरहेको आत्महत्याका घटनासम्बन्धी आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी अध्ययन २०८१ सार्वजनिक गरेको थियो। प्रहरीको उक्त प्रतिवेदनका अनुसार एक दशकमा नेपालमा ९ हजार २ सय ६७ जना सर्वसाधारणले आत्महत्या गरेका छन्।
मानसिक रोग विशेषज्ञ डा. सरोज ओझा भन्छन्, ‘आत्महत्याका घटना हिजो पनि नभएका होइनन्, तर पछिल्लो समय यस्ता घटनाको रिपोर्टिङ बढी हुन थालेको देखिन्छ। नेपालमा आत्महत्याका प्रमुख कारणमध्ये बेरोजगारी, आर्थिक समस्या, पारिवारिक तनाव, सम्बन्धगत समस्या र आवेगजन्य निर्णय मुख्य छन्। केही मानिसहरू स्वभावतः बढी संवेदनशील हुने भएकाले पनि तनावको असर गहिरो पर्न सक्छ।
अर्कोतिर, अहिले आत्महत्या रोकथामभन्दा पनि आत्महत्याका घटनाको सन्देश र चर्चा धेरै फैलिने प्रवृत्तिले नकारात्मक प्रभाव पारिरहेको छ। समस्या भएका मानिसहरूले आवश्यक सेवा र सहयोग सहज रूपमा पाउन सकेका छैनन्। कसैलाई यस्तो सोच आयो भने कहाँ सेवा लिने, कसलाई फोन गर्ने वा कहाँ जाने भन्नेबारे पर्याप्त जानकारीको अभाव छ।
विश्वव्यापी रूपमा पनि आर्थिक अस्थिरता, बेरोजगारी र पारिवारिक तनाव बढ्दो क्रममा छन्। यी सबै कारण मिसिँदा अवस्था झन् जटिल बन्दै गएको छ। साथै, आत्महत्याका लागि प्रयोग हुने सामग्री पनि सजिलै उपलब्ध हुनु अर्को चुनौती हो। सुरक्षाकर्मीहरूको हकमा पनि छुट्टै कारणभन्दा यिनै प्रकारका भित्री समस्या जिम्मेवार हुन सक्छन्। कार्यस्थलको दबाब, टर्चर, पारिवारिक र आर्थिक समस्या तथा मानसिक तनावले मानिसलाई डिप्रेसनतर्फ लैजान सक्छ। केही घटनामा आवेग पनि प्रमुख कारण बन्ने गरेको छ।
यस्ता घटना न्यूनीकरण गर्न सबैभन्दा आवश्यक कुरा जनचेतना हो। सकारात्मक र प्रभावकारी सन्देश प्रवाह हुनुपर्छ। मानसिक समस्या महसुस गर्ने व्यक्तिले कहाँबाट सेवा, सल्लाह र सहयोग पाउने भन्ने जानकारी सहज रूपमा उपलब्ध हुनुपर्छ। साथै, राज्यले मानसिक स्वास्थ्यसम्बन्धी सेवा सहज, सर्वसुलभ र पहुँचयोग्य बनाउन आवश्यक छ। नेपाली समाजमा अझै पनि मानसिक स्वास्थ्य समस्यालाई नकारात्मक रूपमा हेर्ने प्रवृत्ति छ। त्यसैले सकारात्मक जनचेतना फैलाउँदै उपचार र सहयोग लिएपछि समस्या समाधान हुन सक्छ भन्ने सन्देश प्रभावकारी रूपमा प्रवाह गर्न आवश्यक देखिन्छ।’



About Us
प्रतिक्रिया