एकैदिन १ खर्ब २० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक


काठमाडौं – नेपाल राष्ट्र बैंकले आज एकैदिन १ खर्ब २० अर्ब निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले ९७ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । यस निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी २०८३ साउन २० गते हुनेछ ।

बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।

निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।