काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालको १३ औँ महानिरीक्षक (आईजीपी)मा नारायणदत्त पौडेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) पौडेललाई आईजीपी बनाउने निर्णय गरेको हो।
हालका आईजीपी राजु अर्यालय आईजीपीको चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अवकाश जाँदैछन्। त्यसपछि पौडेलले १८ वैशाखपछि आईजीपीको कमान्ड सम्हाल्ने छन्। पौडेलले अहिले सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकस्थित मानव स्रोत विभागका सम्हाल्लीरहेका छन्।
१८ चैत २०५४ सालमा नेपाल प्रहरीको इन्स्पेक्टरमा सेवा प्रवेश गरेका उनी आईजीपी बढुवाको पहिलो दाबेदार थिए। उनीसँगै आईजीपीको बढुवाका लागि सीमा विभागमा कार्यरत एआईजी वंशी दाहाल र कार्य विभागमा कार्यरत एआईजी गणेश ठाडा मगर पनि प्रतिस्पर्धामा थिए। तर, उनीहरू दुवै जना पौडेल भन्दा जुनियर थिए।
पौडेल २०७९ जेठ ६ मा एआईजीमा बढुवा भएका थिए। राजु अर्याल आईजीपी बनेपछि एआईजीको रिक्त पदमा पौडेललाई बढुवा गरिएको थियो। अहिले आईजीपीमा नियुक्त भएका पौडेलले १८ चैत २०८४ सम्म गरी दुई वर्ष संगठन प्रमुख बन्ने छन्। विद्यमान सशस्त्र प्रहरी नियमावली अनुसार ३० वर्षे सेवा हदका कारण उनी १८ चैत २०८४ मा अवकाशमा जानेछन्। २०५४ मा नेपाल प्रहरीको इन्स्पेक्टरमा भर्ना भएका उनी सशस्त्र गठन भएपछि स्थानान्तरण भएर सशस्त्रमा आएका थिए।



About Us
प्रतिक्रिया