काठमाडौं–ढाका नियमित उडान गर्ने तयारी


काठमाडौं – नेपाल वायु सेवा निगमले निकट भविष्यमै काठमाडौंदेखि बङ्गलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने तयारी गरेको छ। निगमले आवश्यक तयारी थालेको र त्यसका लागि सम्भाव्यता अध्ययन उपसमिति गठन गरी आवश्यक कार्य भइरहेको जनाएको छ।

छिमेकी देश भए पनि बङ्गलादेशको राजधानी ढाकामा नेपाली ध्वजावाहक विमानले उडान भर्न सकेको थिएन। सोही आवश्यकतालाई ध्यानमा राखेर आवश्यक प्रक्रिया अगाडि बढाइएको निगमका अपरेसन विभाग निर्देशक एवम् वरिष्ठ क्याप्टेन सुवास रिजालले जानकारी दिए।

बङ्गलादेशबाट हाल काठमाडौंमा नियमित उडान हुँदै आएको छ। नेपालको निजी क्षेत्रको हिमालयन एयरलाइन्सले पनि ढाकामा उडान भर्दै आएको छ। राष्ट्रिय ध्वजावाहकको उडान भने हालसम्म हुनसकेको छैन। अध्ययन समितिले दिने प्रतिवेदनका आधारमा उडान तय गरिने निगमले जनाएको छ।

त्यसैगरी निगमले काठमाडौं–दिल्ली–काठमाडौं हवाई उडान सेवा थप विस्तार गरेको छ। हाल यो रुटमा निगमले २०८२ चैत १७ गतेदेखि सातामा थप तीन दिन उडान थप गरेको छ। नयाँ व्यवस्थापछि काठमाडौं–दिल्ली–काठमाडौं साताको १० उडान भइरहेको छ। कार्गो व्यवसायलाई थप सुदृढ एवम् उपलब्धिमूलक बनाउन कार्गो म्यानेजमेन्ट सिस्टम स्टडी टास्कफोर्स गठन गरिएको छ।