फागुनसम्ममा निर्जीवन बीमा कम्पनीहरुले संकलन गरे ३१ अर्ब बढी बीमा शुल्क

सबैभन्दा धेरै संकलन गर्नेमा शिखर इन्स्योरेन्स


काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को फागुन महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३१ अर्ब बढी कुल बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुनसम्म कम्पनीहरुले ३१ अर्ब ७० करोड २३ लाख बीमा शुल्क संकलन गरेका हुन् ।

सञ्चालनमा रहेका १४ वटा कम्पनीहरुले १८ लाख ६२ हजार ११४ वटा बीमा पोलिसी बिक्री गरी ३१ अर्ब बढी बीमा शुल्क संकलन गरेका हुन् । फागुन मसान्तसम्ममा सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्नेमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ४ अर्ब ३८ करोड कुल बीमा शुल्क संकलन गर्दै सबैभन्दा बढी बीमा शुल्क संकलन गर्ने कम्पनी बनेको हो । यस्तै, दोस्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ३६ करोड कुल बीमा शुल्क संकलन गरेको छ ।

यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३ अर्ब २० करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ७९ करोड, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले २ अर्ब ६८ करोड, एनएलजी इन्स्योरेन्सले २ अर्ब ५३ करोड, नेको इन्स्योरेन्स कम्पनीले २ अर्ब ३९ करोड र यूनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ९६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् ।

यस्तै, ओरिएन्टल इन्स्योरेन्सले १ अर्ब ९४ करोड, सानिमा जिआइसी इन्स्योरेन्सले १ अर्ब ७८ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ४९ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब २१ करोड र सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ भने नेशनल इन्स्योरेन्सले ८६ करोड ८७ लाख बीमा शुल्क संकलन गरेको छ ।