सानै उमेरदेखि पैसाको सदुपयोग गर्न गभर्नर डा. पौडेलको आग्रह


काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले सानै उमेरदेखि पैसाको सदुपयोग गर्नुपर्ने बताए । आजदेखि सुरु भएको ग्लोबल मनी विकको अवसरमा आयोजित कार्यक्रममा सहभागी विभिन्न विद्यालयका विद्यार्थीहरुलाई पैसाको प्रयोगबारे जानकारी गराएका हुन् ।

उनले पहिला लिएको कर्जा तिर्न नसक्दा जीवरभर साहुको घरमा बस्नुपर्ने प्रचलन रहेको बताउँदै कर्जाको सही सदुपयोग गर्न अत्यन्तै आवश्यक रहेको बताए । ‘पहिलाको जस्तो अवस्था अहिले नरहे पनि पैसाको सदुपयोग निकै आवश्यक छ’ गभर्नर पौडेलले भने, ‘तपाईहरु जो कोहीले पनि कर्जा लिएर सदुपयोग गर्न जान्नुभएन भने त्यसको ठूलो असर देखिन्छ।’ त्यसैले पैसाको सदुपयोग आजका लागी मात्रै नभई भविष्यका लागी पनि आवश्यक भएको उनको भनाई छ ।

उनले पैसा मेहनत गरेर कमाएको भन्दै यसको सदुपयोगको बारेमा बुझ्न आवश्यक रहेको बताए । ‘पैसा आफैमा मेहनतको नतिजा हो’ उनले भने, ‘त्यसैले यसलाई सावधानीपूर्वक ह्यान्डल गर्नुपर्छ ।’ उनले पहिलाको तुलनामा पैसाको प्रयोग परिवर्तन हुँदै गइरहेको भन्दै भर्चुअल पैसाको कारोबार गर्ने दिन आउने उनले बताए ।

उनले भविष्यमा जुन पेशा अँगाल्दा पनि पैसाको प्रयोग गर्न नजाने उपलब्धि हासिल गर्न नसक्ने बताएका हुन् । उनले पैसाको खर्च गर्ने विषयमा स्पष्ट सोचाई र स्पष्ट बुझाई हुन जरुरी रहेको बताए ।