आईपीओको पाइपलाइनमा होटल पार्कल्यान्ड थपियो


काठमाडौं – नेपाल धितोपत्र बोर्डले आइतबार होटल पार्कल्यान्डलाई समावेश गर्दै सार्वजनिक शेयर निष्काशन (आईपीओ)को पाइपलाइनको नयाँ सूची सार्वजनिक गरेको छ। बोर्डले शुक्रबार मात्रै सार्वजनिक गरेको सूचीमा एउटा कम्पनी थपेर आइतबार अर्को सूची ल्याएको हो।

कम्पनीले स्वीकृति पाएमा १०० रुपैयाँ अंकित मूल्यमा १५ लाख कित्ता शेयर निष्काशन गर्नेछ। ५ फागुनमा कम्पनीले बोर्डमा आवेदन दिएको थियो। इस्यु म्यानेजर सिटिजन्स क्यापिटललाई तोकिएको छ।

हालसम्म कुल पाइपलाइनमा रहेको कम्पनीले ६० अर्ब १९ करोड ७९ लाख १७ हजार रुपैयाँ निष्काशनका लागि आवेदन दिएका छन्। होटल तथा पर्यटन क्षेत्रतर्फका १३ कम्पनीका ३ अर्ब ९५ करोड ९३ लाख ९३ हजार रूपैयाँ मूल्यको शेयर निष्काशनको पर्खाइमा छन्।

त्यस्तै, जलविद्युत् क्षेत्रका ३३ कम्पनीका १६ अर्ब ५६ करोड ९३ लाख ८८ हजार रुपैयाँ आईपिओ ल्याउने तयारीमा छन्। लगानी क्षेत्रका ४ कम्पनीले ३ अर्ब १४ करोड १० लाख ३७ हजार रुपैयाँ शेयर निष्काशनका लागि आवेदन दिएका छन्।

उत्पादन तथा प्रशोधन क्षेत्रका २५ कम्पनीले ३१ अर्ब २७ करोड ३७ लाख ९१ हजार रुपैयाँ निष्काशनको प्रस्ताव छ। लघु बीमाका ३ कम्पनीले ६७ करोड ५० लाख रुपैयाँ आईपीओकाे अनुमति मागेका छन्। त्यस्तै, अन्य समूहका ११ कम्पनीले ४ अर्ब ५७ करोड ९३ लाख ६ हजार रुपैयाँ आइपीओका लागि आवेदन दिएका छन्।