रास्वपा घोषणापत्र: नेप्से र सिडिएससीको पुनः संरचना गरिने


काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि सार्वजनिक गरेको घोषणापत्रमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ (सिडिएससी) को पुनःसंरचना गरी निजी क्षेत्रको शेयर सहभागिता बढाउने बताएको छ। त्यस्तै, नेप्से र सिडिएससी को पुनः संरचना गरी प्रतिस्पर्धात्मक डिपोजिटरी सेवा विकास गर्ने बताएको हो।

पुँजी बजारलाई पारदर्शी, सुरक्षित र लगानीमैत्री बनाउन नियामक सुधार, प्रविधिमैत्री कारोबार प्रणाली तथा लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ धितोपत्र ऐन, २०६३ मा आवश्यक संशोधन गरी धितोपत्र बोर्डको संरचना पुनर्गठन गर्ने समेत घोषणा पत्रमा उल्लेख गरिएको छ।

त्यस्तै, ‘पूँजी बजारको तरलता, पारदर्शिता र जोखिम व्यवस्थापन क्षमता अभिवृद्धि गर्न, स्पष्ट कानूनी संरचना र कडा नियमनसहित इन्ट्राडे कारोबार, शर्ट सेलिङ तथा फ्युचर्स, अप्सनलगायत डेरिभेटिभ वित्तीय उपकरणहरू चरणबद्ध रूपमा सुरु गरी नेप्सेलाई अन्तरराष्ट्रियस्तरको बनाउनेछौं।’ घोषणा पत्रमा उल्लेख छ।

इनसाइडर ट्रेडिङ र बजार हेरफेरविरुद्ध शून्य सहनशीलताको नीति लागू गरी, आईपीओ प्रणालीमा आमूल सुधार गरी निष्पक्ष बाँडफाँड, बुक बिल्डिङ सुधार र समयमै सूचीकरण गर्ने व्यवस्था मिलाउने समेत रास्वपाको बाचनपत्रमा उल्लेख छ।