काठमाडौं – नेपालमा अनौपचारिक माध्यमबाट भित्रिरहेको ‘रेमिट्यान्स’को हिस्सा घटाउने लक्ष्यसहित नेपाल रेमिटर्स एसोसिएसन र बैंकिङ्ग समाचारबीच अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। नेपालमा प्रत्येक वर्ष १७ खर्ब रुपैयाँभन्दा बढी ‘रेमिट्यान्स’ भित्रिँदै आएको छ। तर, यसको तुलनामा २० देखि ३० प्रतिशत रेमिट्यान्स अनौपचारिक माध्यमबाट भित्रिने गरेको बताइन्छ।

अन्तरक्रियात्मक कार्यक्रममा अनौपचारिक माध्यमबाट भित्रिरहेको रेमिट्यान्सलाई ‘बैंकिङ्ग च्यानल’मार्फत भित्र्याउने लक्ष्य राखेर अनौपचारिक माध्यमलाई न्यूनीकरण गर्ने उपायको खोजी एसोसिएसन र बैंकिङ्ग समाचार संयुक्तरुपमा लाग्ने विषयमा छलफल भएको हो।
छलफलमा एसोसिएसनका अध्यक्ष रितेश मित्तलसहितको टोलीको सहभागिता थियो। सो क्रममा विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सलाई औपचारिक माध्यमबाट भित्रिने क्रमलाई बढवा दिनुपर्नेमा एसोसिएसनका अध्यक्षको जोड थियो।

यस्तै, बैंकिङ्ग समाचारका प्रबन्ध निर्देशक राजु ढुंगेलले बैंकिङ्ग समाचार विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई ‘ग्रीन च्यानल’मा प्रवर्द्धन गर्ने लक्ष्य बैंकिङ्ग समाचारले राखेको बताए। उनले विशेष गरी संयुक्त अरब इमिरेट्सबाट नेपाल भित्रिने रेमिट्यान्सलाई औपचारिक माध्यमबाट ल्याउने गरी लाग्नुपर्नेमा जोड दिए।

बैंकिङ्ग समाचारको आयोजनामा यही वर्ष सन् २०२६ को मार्च ३१ र अप्रिल १ मा युएईको दुबईमा ‘बैंकिङ्ग, फिनटेक र रेमिट्यान्स डिस्कोर्श २०२६’ आयोजना हुँदैछ। सो डिस्कोर्शको मुख्य लक्ष्य दुबईबाट नेपाल भित्रिने रेमिट्यान्समा ‘फर्मल च्यानल’ प्रवर्द्धन गर्न वित्तीय सचेतना फैलाउनु रहेको छ। यही डिस्कोर्शलाई केन्द्रमा राखेर एसोसिएसन र बैंकिङ्ग समाचारबीच अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको हो।







About Us
प्रतिक्रिया