वीरगञ्जनाका हुँदै सामान आयात बढ्यो


पर्सा- वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा चार खर्ब ३८ अर्ब २१ करोड रूपैयाँ मूल्यका वस्तु तथा सामान आयात भएको छ। गत आवको छ महिनाका तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै हुने आयात १५ दशमलव ३० प्रतिशतले बढी आयात भएको हो।

जबकी गत आवको छ महिनामा भने तीन खर्ब ८० अर्ब छ करोड रूपैयाँ मूल्य बराबरका वस्तु तथा सामान भित्रिएको थियो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको छ महिनामा यो नाका हुँदै हुने आयातमा उल्लेखनीय वृद्धि भएको बताए।

चालु आवको छ महिनामा ९० अर्ब छ करोड रूपैयाँ मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ। ३९ अर्ब तीन करोड रूपैयाँ मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात भएका छन्। चालु आवको छ महिनामा ३० अर्ब एक करोडरूपैयाँ मूल्य पर्ने मेसिनरी तथा पार्टपुर्जा आयात भएका छन् भने २७ अर्ब ७२ करोड रूपैयाँ मूल्य पर्ने भटमासको कच्चा तेल आयात भएको छ ।

सोही अवधिमा २४ अर्ब ६१ करोड मूल्य पर्ने ‘इलेक्ट्रिक मेसिनरी’, उपकरण र तिनका पार्टपुर्जा आयात भएका छन्। त्यस्तै, १९ अर्ब चार करोड रूपैयाँ मूल्य पर्ने कपडाहरु आयात भएका छन्।