‘उद्यमीहरुकी गुरुआमा’ निर्मला


झापा – हँसिलो अनुहार, मिजासिलो व्यवहार र दर्बिलो आत्मविश्वास भएकी निर्मला चौहान भण्डारी ‘उद्यमीहरुकी गुरुआमा’ भनेर चिनिन्छिन्। मेचीनगर नगरपालिका–१२ निवासी उनले विगत एक दशकमा चार सयभन्दा बढी महिलालाई आफूले जानेको सीप र अनुभव सिकाएर उद्यमी बनाएकी छन्। ‘चुलो र भान्सामा सीमित महिला दिदीबहिनीहरुलाई आफ्नै खुट्टामा उभिन सबैभन्दा पहिला आवश्यक कुरा उद्यमशील बन्ने सीप हो,’ उनले भनिन्,’पुरुषले कमाउँछन् र महिलाले त्यसमै निर्भर हुनुपर्छ भन्ने पुरातन सोचमा परिवर्तन ल्याउन मैले तालिम र उद्यमशीलताको अभियान नै चलाएको छु।’

उनी आफूले सञ्चालन गर्ने तालिम र उत्पादन हुने वस्तुमा स्थानीय स्रोतको प्रयोग गर्छिन्। मकैको खोसेला, धानको पराल, रुद्राक्षको दाना, केराको दाम्चाको रेसाजस्ता सामग्रीबाट आकर्षक झोला, गुन्द्री, पिरा, चप्पल, फूल र सजावटका सामानहरु बनाउन सिकाउँछिन्। घर वरिपरि खेर गइरहेका यस्ता कच्चा पदार्थको उपयोगबाट कलात्मक सामग्री उत्पादन हुँदा मुनाफा राम्रो पाइने र वातावरण संरक्षणमासमेत ठूलो योगदान पुग्ने उनको धारणा रहेको छ।

धुप, साबुन, सरफ, हार्पिक, फिनेललगायतका दिनहुँ घरमा काममा आउने सामान बनाउनसमेत उनले तालिम दिँदै आएकी छन्। गाउँघरमै पाइने तरकारीहरुबाट स्वादिला अचार बनाउने तालिम उनले प्रदान गर्दै आएकी छन्। उनले यस्ता तालिम झापा जिल्लामा मात्र नभएर कोशी प्रदेशका विभिन्न जिल्लामा सञ्चालन गरिसकेकी छन्। खासगरी ग्रामीण क्षेत्रका सयौँ महिला उनीबाट सीप सिकेर आयआर्जन गर्ने तहसम्म लाभान्वित भइसकेका छन्।

सीप सिक्ने र सिकाउने उनको यो यात्रा एकाएक सुरु भएको होइन। विद्यार्थी जीवनदेखि नै उनी धागो र कपडासँँग खेल्न रुचाउँछथिन्। विसं २०५५ तिर इलाम क्याम्पसमा अध्ययन गर्दै गर्दा  सामाजिक काम गर्ने र आत्मनिर्भरताका लागि आफू उदाहरण बनेर अरुलाई प्रेरित गर्ने चाहना पलाएको थियो। २०५६ सालमा विवाह गरेर मेचीनगर आएपछि उनले २०६४ सालमा घरेलु कार्यालय झापाले आयोजना गरेको उद्यमशीलतासम्बन्धी १० दिने तालिम लिइन्। त्यही तालिमले नै उनको जीवनलाई नयाँ मोड दिएको देखिन्छ।

‘हरेक महिलाका लागि क्याम्पसमा पढ्दा र बिहे गरेपछिको अवस्थामा परिवर्तन हुन्छ,’ उनी भन्छिन्, ‘मैले चाहिँ बिहे गरेपछिको अवस्थालाई जीवनको नयाँ अध्याय सुरु गर्ने अवसरका रुपमा लिएँ। पहिला आफू आत्मनिर्भर हुने र गाउँका दिदीबहिनीलाई पनि त्यही बाटोमा डोहोर्‍याउने सङ्कल्पका साथ तालिमको भरपुर सदुपयोग गरेँ। यसमा परिवारको दर्विलो साथ थियो।’

विसं २०६५ मा तत्कालीन धाइजन गाउँपालिकामा सगरमाथा सामुदायिक विकास केन्द्र चन्द्रगढीले आयोजना गरेको सात दिवसीय गुडिया बनाउने तालिम लिएपछि निर्मलामा उद्यमी बन्ने सोच आयो । उनले तालिमपछि आफ्नै घरमा ‘जागरुक लघु उद्योग’ स्थापना गरिन्। सुरुवाती समयमा उनीसँग एउटा सिलाई मेसिन मात्र थियो। घरेलु कार्यालयले सहयोगस्वरुप अर्को मेसिन उपलब्ध गराएपछि उनले दुई वटा मेसिनबाट गुडिया र झोलाको व्यावसायिक उत्पादन सुरु गरिन्। सुरुसुरुमा त गाउँलेहरुले घरमै उद्योग चल्ने कुरामा पत्यार गरेका थिएनन्।

चिटिक्क परेका झोला र गुडिया उत्पादन हुन थालेपछि गाउँघरमै यसको बिक्री बढ्यो। वल्लो र पल्लो गाउँ हुँदै सहरसम्म निर्मलाको सीप र उत्पादनको चर्चा र प्रशंसा बढ्न थाल्यो। यसबाट उनको ख्याति मात्र बढेन, उनीसँग तालिम लिन र सामान किन्न आउनेको लर्को नै लाग्न थाल्यो।

‘आफूले उत्पादन गरेको सामान बिक्री हुन थालेपछि मनोबल र उत्साह बढ्दो रहेछ’, उनले सङ्घर्षमय दिनहरु सम्झँदै भनिन्, ‘एकातिर आम्दानी बढ्यो, अर्कातिर मलाई पनि सीप सिकाइदिनु भन्दै महिला दिदीबहिनी र सङ्घसंस्था धाउन थाले। बल्ल आफ्नो सपना पूरा हुन थाल्यो भनेर म झनै उत्साही भएर लागेँ।’

त्यसपछि उनी कुशल प्रशिक्षकका रुपमा प्रख्यात भइन्। सयौँ स्थानमा तालिम दिएका महिलालाई उद्योग खोलेर आफ्ना उत्पादनहरु बजार पुर्‍याउन प्रेरित गर्न थालिन्। सबैले उनलाई गुरुआमा भन्न थाले। उनले एक दशकमा पाँच हजारभन्दा बढी महिलालाई आत्मनिर्भर बनाउने तालिम प्रदान गरेको बताइन्। उनीसँग सीप सिकेका चार सयभन्दा बढी महिलाले घरेलु उद्योग नै सञ्चालन गरिरहेका छन्। 

‘घरमै बसेर थोरै लगानीमा उद्यमी बन्न सकिन्छ भन्ने कुरामा आश्वस्त तुल्याएर सीप सिकाइरहेकी छु,’ उनी भन्छिन्, ‘आफैँले सञ्चालन गरेको पुनःजागृति केन्द्र नामक प्रशिक्षण केन्द्र एवं घरेलु उद्योगमा २५ जना महिलालाई प्रत्यक्ष रोजगारीसमेत दिइरहेकी छु। यही सफलता नै मेरो जीवनको सबैभन्दा ठूलो सम्पति हो।’ 

विसं २०७२ देखि उहाँलाई सरकारी निकायले प्रशिक्षकको रुपमा औपचारिक मान्यता दिएर तालिमहरुमा परिचालन गर्न थाल्यो। पुनः जागृति सीप केन्द्र नामक तालिम दिने संस्था भने विसं २०७८ मा घरेलु कार्यालयमा दर्ता गराएकी थिइन्। हाल यही केन्द्रमार्फत उनको तालिम र प्रशिक्षण अभियान कोशी प्रदेशका १० जिल्लामा फैलिएको छ। मधेस प्रदेशको सिराहा र सप्तरीसम्म पनि पुगेर महिलाहरुलाई सीप सिकाउने र आत्मनिर्भर बनाउने कार्यमा लागिरहेको उनको भनाइ छ।

उनले घरमै बसेर आत्मनिर्भर बन्नेखालका सीपहरुमा महिलाको आकर्षण रहेको र यसबाट महिनामै लाखौँ कमाइ गर्न सकिने बताइन्। ‘सिन्के धुपको विकल्पमा हामीले स्थानीय क्षेत्रमा खेर गइरहेका फूलपातिलाई सङ्कलन गरी धुलो बनाई बाती बनाइरहेका छौँ’, उनले भनिन्, ‘तर स्थानीय सरकारले नीति नबनाउँदा बाहिरको सामग्रीले बजार कब्जा गरेको छ। ग्रामीण महिलाले उत्पादन गरेका वस्तुको बजारका लागि सरकारले सघाउनुपर्ने खाँचो छ।’

सीप सिक्ने इच्छा शक्ति भएका विपन्न, असहाय र अपाङ्गता भएका महिलालाई घरमै पुगेर निःशुल्क सीप सिकाउने र व्यवसायका लागि स्रोत जुटाइदिने कार्यमासमेत आफू लागिरहेको उनको भनाइ छ। कुनैपनि महिलालाई आत्मनिर्भर र उद्यमी बन्न सबैभन्दा परिवारकै साथ हुनुपर्ने उनी बताउँछिन्। उनले सफल प्रशिक्षक र उद्यमीको रुपमा आफू चिनिनुमा पति राजु भण्डारीको साथ र सहयोग रहेको बताइन्। आवश्यक कच्चापदार्थ ल्याइदिने, बजारीकरणमा सहयोग गर्नेलगायतका काममा पतिको सहयोग रहेको उनी बताउँछिन्। 

मेची उद्योग वाणिज्य सङ्घको उपाध्यक्ष समेत रहेकी निर्मलाले महिला उद्यमी समिति बनाएर त्यसैमार्फत धेरैलाई तालिम, परामर्श र बजारको पहुँचको विषयमा सहयोग गरिरहेको बताइन्। महिला उद्यमशीलता अभियानमा लाग्नुभएकी निर्मलाको यात्रा लोभलाग्दो र प्रेरणादायी भए तापनि यस क्षेत्रमा चुनौति र समस्याको चाङ पनि कम छैनन्।

‘हामीले उत्पादन गरेका सामाग्री राम्रा छन् तर बजार छैन,’ उनी भन्छिन्, ‘ब्रान्डिङ गर्न सकेका छैनौं। बजारमा प्रतिष्पर्धा गर्न सजिलो छैन। राज्यले प्रोत्साहनको उत्साहजनक नीति र कार्यक्रम ल्याउन सकेको छैन।’ निर्मला स्थानीय सरकारलाई बजार विस्तारका लागि आग्रह गरिरहेको बताउँछिन्। साप्ताहिक रैथाने बजार सञ्चालन गर्नसके स्थानीय उत्पादनको बजार विस्तार हुने र उद्यमी महिलालाई राहत पुग्ने उनी बताउँछिन्। जहाँ मेला, महोत्सव लाग्छन् त्यही पुर्‍याएर आफूले उत्पादन गरेका सामग्रीको बिक्री गर्नुपर्ने कतिपय बाध्यता रहेको उनको गुनासो छ। 

स्थानीय सरकारसँग धेरैपटक नीति बनाएर उद्यमी महिलालाई सहयोग गर्न आग्रह गरेको बताइन्। महिलाले उत्पादन गरेका झोला नगरमा सञ्चालन हुने विद्यालयका विद्यार्थीसम्म पुग्ने हो भने पनि धेरैले रोजगार पाउने उनी बताउँछिन्। 

सीप सिकाउने र सिक्ने संस्कारले बेरोजगारी घट्ने र महिलाको आर्थिक सशक्तिकरणमा मद्दत मिल्ने उनको भनाइ छ। उनले धेरै महिलाले सीप सिकेर परिवार पाल्न सक्षम भएका उदाहरण दिँदै भनिन्, ‘मेरो सपना भनेकै हरेक घरका महिला सीप सिकेर आत्मनिर्भर बनुन् भन्ने हो।’ निर्मलाले प्रशिक्षण प्रदान गरेका धेरै महिला अहिले प्रशिक्षककै रुपमा काम गरिरहेका छन्। मेचीनगर–१३ की निर्मला खनालले उनीबाट तालिम लिएर हाल प्रशिक्षकको रुपमा काम गरिरहेको बताइन्। 

‘व्याग र बुटिकसम्बन्धी तालिम दिएर निर्मला दिदीले उद्यमी बनाउनुभयो’, उनले भनिन्, ‘जतिबेला म सङ्कटबाट गुज्रिरहेकी थिएँ, त्यसबेला उनले नै तालिम दिएर हौसला बताइन्। अहिले उद्यमसँगै प्रशिक्षकसमेत बनेर काम गरिरहेकी छु।’ मेचीनगरको नारी कल्याणकारी महिला विकास संस्थाकी अध्यक्ष जानुका ओलीले प्रशिक्षक निर्मला चौहान भण्डारी समाजकी प्रेरणाकी स्रोत र उदाहरणीय व्यक्तित्व भएको बताइन्। उनले असहाय र विपन्नलाई तालिम दिएर स्वरोजगार बनाउँदा सयौं महिलाहरु आत्मनिर्भर बन्न सफल भएको बताइन्।