गण्डकी विकास बैंकलाई गाभेको मेगा बैंकको खुद नाफा १ अर्ब ५२ करोड 

गण्डकी विकास बैंकलाई गाभेको मेगा बैंकको खुद नाफा १ अर्ब ५२ करोड 


बैकिङ्ग समाचार । 
मेगा बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा सामान्य नाफा घटेको वित्तीय विवरण सार्वजानिक गरेको छ। बैंकले शुक्रबार सार्वजानिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा ६.६३ प्रतिशतले घटेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो गत अघिल्लो आर्थिक वर्षको तुलनामा १० करोड ९० लाख रुपैयाँले घटेको छ। अघिल्लो वर्षको यसै अवधिमा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएकाे थियो।

कोरोनाको कारण ग्राहकहरुमा परेको असरले बैंकको किस्ता तथा बक्यौता उठ्न नसक्दा नाफा प्रभावित भएको बैंकले जनाएको छ। बैंकको किस्ता असुली हुन नसक्दा ठुलै रकम रेगुलेटरी रिजर्भमा राख्नु परेको छ। जसले गर्दा बैंकको वितरणयोग्य नाफा अझै कम छ। यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ११ करोड रुपैयाँ छ।

बैंकको खुद ब्याज आम्दानी केही बढेको छ भने सञ्चालन नाफा घटेको छ। त्यस्तै, खराब कर्जा पनि केहि बढेको छ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा बैंकले ४ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो आम्दानी ३ अर्ब ७९ करोड रुपैयाँ थियाे। बैंकको सञ्चालन मुनाफा भने २ अर्ब ३३ करोड रुपैयाँबाट घटेर २ अर्ब १५ करोड रुपैयाँमा झरेको छ। 

बैंकको कर्मचारी खर्च १ अर्ब १५ करोड रुपैयाँबाट बढेर १ अर्ब २५ करोड पुगेको छ भने अन्य सञ्चालन आम्दानी ६२ करोड ९१ लख रुपैयाँबाट बढेर ६६ करोड ५६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै बैंकको इम्पेरिमेन्ट चार्ज ४२ करोड ६६ लाख रुपैयाँबाट बढेर ८८ करोड ८५ लाख रुपैयाँ पुगेको छ।

बैंकको चुक्ता पुँजी १० अर्ब ३६ करोड रुपैयाँबाट बढेर १३ अर्ब १३ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष १३ अर्ब ५१ करोड रुपैयाँबाट बढेर १७ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ७८ अर्ब ६८ करोड रुपैयाँबाट बढेर १ खर्ब २७ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ६९ अर्ब ८६ करोड रुपैयाँबाट बढेर १ खर्ब १० अर्ब ६० कराेड रुपैयाँ पुगेको छ।

बैंकको खराब कर्जा ०.९८ प्रतिशतबाट बढेर १.२० प्रतिशत पुगेको छ। बैंकको आधार दर ८.३२ प्रतिशत छ भने स्प्रेड दर ४.३९ प्रतिशत रहेको छ। त्यस्तै, पूँजीकोष अनुपात १२.८८ प्रतिशत रहेको बैंकको सिसिडि रेशियो ७५.३५ प्रतिशत र कोषको लागत ६.९३ प्रतिशत रहेको छ।

बैंकको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ९९ पैसा र मूल्य आम्दानी अनुपात १४.३२ गुणा रहेको छ।