राति कुकरको सिठी बजाउने र होहल्ला गर्नेलाई ३ लाखसम्म जरिवाना


काठमाडौं – बढ्दो ध्वनि प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले काठमाडौं उपत्यका प्रहरीले ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ सुरु गरेको छ। प्रहरीले सार्वजनिक गरेको निर्देशनअनुसार राति अनावश्यक आवाज नगर्ने, अबेरसम्म ठुलो स्वरमा गफगाफ, नाचगान वा ठूलो आवाजमा टेलिभिजन बजाउने कार्य रोक्न अनुरोध गरिएको छ।

अभियानअन्तर्गत राति कुकरमा सिट्ठी नलगाउने, शौचालय फ्लस गर्दा ध्वनि कम गर्ने उपाय अपनाउने तथा घरमा संगीत अभ्यास गर्दा ध्वनि नियन्त्रण उपकरण प्रयोग गर्न सुझाव दिइएको छ। धार्मिक तथा सामाजिक कार्यक्रमहरूमा समेत ध्वनि नियन्त्रण गर्दै पूजापाठ वा प्रार्थना गर्न आग्रह गरिएको छ।

प्रहरीले छिमेकीलाई असजिलो हुने गरी कुकुर वा कुखुरा पाल्दा ध्यान दिन, सडकमा अनावश्यक हल्ला नगर्न, प्रेशर हर्न वा मोडिफाइ सवारी साधन प्रयोग नगर्न चेतावनी दिएको छ। प्रहरीका अनुसार ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित निकायले नियन्त्रण गर्ने र यस्ता गतिविधिमा संलग्नलाई अधिकतम ३ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको प्रहरीले जनाएको छ।