काठमाडौं – काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले काठमाडौं उपत्यका प्रहरी कार्यालय मातहत कार्यालय प्रमुखहरूसँग वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सङ्गठन प्रमुख प्रहरी महानिरीक्षक दीपक थापा र काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङबीच गत भदौ ८ गते वार्षिक कार्यसम्पादन सम्झौता भए अनुसार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा आइतबार एक समारोहकाबीच मातहत कार्यालयका प्रमुखहरूसँग आर्थिक वर्ष २०८२/०८३ को कार्य सम्पादन सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय र यस कार्यालय मातहत कार्यालयहरूबीच भएको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यसम्पादन सम्झौता कार्यान्वयन र कार्य विवरणको विश्लेषण गर्दा कार्य प्रगतिको अवस्था सन्तोषजनक रहेको बताउँदै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख टेक बहादुर तामाङले सम्झौता पत्रमा उल्लेख भएका कार्यहरू प्रभावकारी रूपमा पालना गरी कार्यान्वयन गर्न हुन मातहत कार्यालयका प्रमुखहरूलाई निर्देशन दिए।

प्रहरी सेवालाई चुस्त दुरुस्त एवम् प्रभावकारी बनाउन यो कार्यसम्पादन सम्झौताले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले आर्थिक वर्ष २०८२/०८३ को कार्य सम्पादन सम्झौता पत्रमा नवप्रवर्तन र सिर्जनात्मक कार्यहरू लगायत समसामयिक विषयहरू समेत समावेश गरिएकाले सुरक्षित काठमाडौं उपत्यका अभियानमा सबै मातहत कार्यालयहरूको ऐक्यबद्धता रहने विश्वास व्यक्त गरे।



About Us
प्रतिक्रिया