यो वर्ष पनि दसैंमा नयाँ नोट नपाइने, सुकिला नोट भदौ २९ गतेदेखि बजारमा


काठमाडौं – नेपाल राष्ट्र बैंकले यस वर्षको दसैंमा पनि नयाँ नोट नबाड्ने भएको छ । राष्ट्र बैंकले गत वर्षदेखि दसैंको समयमा नयाँ नोट नबाड्ने नीति लिएको छ ।

केन्द्रीय बैंकका प्रवक्ता किरण पण्डितकाअनुसार यो वर्ष पनि दसैंको समयमा सुकिला नोट मात्रै बाँड्ने भएको छ । दसैंमा नयाँ नोट प्रयोग गर्दा धेरै फोहोर हुने र नोट छिट्टै पुरानो हुने केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै, केन्द्रीय बैंकले भदौ २९ गतेदेखि सुकिला नोट साट्न सकिने बताएको छ । सुकिला नोट राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथली तथा प्रदेशस्तरीय कार्यालयहरू विराटनगर, जनकपुर, बीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी र बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालयबाट सटही सेवा उपलब्ध हुनेछ ।

राष्ट्र बैंकले नयाँ नोट नछाप्ने भएसँगै यो पटकको दसैंमा पनि नयाँ नोट देख्न नपाइने भएको छ । विगतमा भने राष्ट्र बैंकले ठूला चाडलाई लक्षित गर्दै नयाँ नोट छाप्दै आएको थियो ।

दशैं अघि नयाँ नोट वितरण गर्दा राज्यकोषमा प्रतिवर्ष कम्तिमा १ अर्ब ३० करोड रुपैयाँको भार थपिने गरेको जनाइएको छ । यही भारलाई न्यूनीकरण गर्ने लक्ष्यसहित केन्द्रीय बैंकले नयाँ नोटलाई बजार पठाउने समय परिवर्तन गर्ने निर्णय गरेको हो ।