झापा – मेचीनगरको चारआलीस्थित पाउ पाथिभरा मन्दिरमा भक्तजनले चढाएको भेटीलगायतबाट एक वर्षमा एक करोड ४२ लाख ८१ हजार रुपैयाँ सङ्कलन भएको छ । पूर्वपश्चिम राजमार्गसँग जोडिएको मेचीनगर–१३ मा २०७१ सालमा स्थापना भएको यस मन्दिरको व्यवस्थापन गर्न पाउ पाथिभरा उत्तरगङ्गा पर्यटन प्रवर्द्धन समिति गठन भएको छ ।
समितिका अध्यक्ष लोकराज ढकालले आर्थिक वर्ष २०८१/८२ मा दान पेटिकाबाट ७४ लाख ७४ हजार रुपैयाँ , सहयोग रसिदबाट ४४ लाख ४१ हजार रुपैयाँ, जिन्सी सामान बिक्रीबाट १२ लाख ३८ हजार रुपैयाँ र आजीवन सदस्यताबाट ८८ हजार रुपैयाँ आम्दानी भएको बताए।
बैंकमा रहेको बचतको ब्याजबापत पाँच लाख ६० हजार रुपैयाँ , अनलाइनमार्फत आय दुई लाख ५४ हजार रुपैयाँ र विविध आम्दानीबापत ३० हजार ७२० रुपैयाँ सङ्कलन भएको उनले जानकारी दिए ।
प्रसिद्ध पाथिभरा देवीको पाउ रहेको पवित्र स्थानको रूपमा पूजापाठ र दर्शन गर्न मन्दिरमा दैनिक सयौँ भक्तजन आउने गर्छन्। भारतको पश्चिम बङ्गाल, सिक्किम, आसामलगायत स्थानबाट पनि यहाँ दर्शनार्थी आउने गरेका छन् ।
समितिले आम्दानीलाई बैंकमा जम्मा गर्ने र बैंकमार्फत नै खर्च गर्दै आएको जनाएको छ । आम्दानीबाट मन्दिरको पुजारी तथा कर्मचारीको नियमित पारिश्रमिक दिने, आवश्यक भौतिक संरचना निर्माण गर्ने र भक्तजनको सुविधाका लागि विभिन्न खर्च गर्दै आएको छ ।
मन्दिरको शौचालय, धाम परिसरमा मार्वल तथा टायल्स बिछ्याउने कार्य र एउटा भवनसमेत बनाउँदा सो आवमा ५७ लाख रुपैयाँ खर्च भएको समितिका अध्यक्ष ढकालले बताए। मन्दिरको नाममा एक करोड १२ लाख २१ हजार रुपैयाँ बैंक मौज्दात रहेको छ । समितिले चार गुरुसहित नौ कर्मचारीलाई करारमा नियुक्त गरेर पारिश्रमिक दिँदै आएको छ ।



About Us
प्रतिक्रिया