सिँचाइका लागि १ वर्षमा १६ डिप बोरिङ वितरण


नवलपुर – नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा एक वर्षको अवधिमा सिँचाइका लागि १६ वटा ‘डिप बोरिङ’ वितरण गरिएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा वितरण भएको डिप बोरिङले जिल्लाका करिब ४२५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको भूमिगत जल सिँचाइ आयोजना कार्यालय भरतपुरले जनाएको छ ।

आयोजना प्रमुख इञ्जिनियर विश्वबन्धु केसीले एउटा डिप बोरिङबाट करिब २५ देखि ३० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने बताए। ‘हामीले गत वर्षबाट मात्रै नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा डिप बोरिङको काम गरेका हौँ’, उनले भने, ‘एउटा डिप बोरिङबाट करिब १५० जनासम्म कृषक लाभान्वित भएका छन् ।’ जिल्लाको गैँडाकोट नगरपालिकामा ५, विनयी त्रिवेणी गाउँपालिकामा ४, मध्यविन्दु नगरपालिकामा ३, कावासोती नगरपालिकामा ३ र देवचुली नगरपालिकामा एउटा डिप बोरिङ वितरण गरिएको जानकारी दिए।

किसानबाट माग भएपछि सम्भाव्यता अध्ययन गरी प्राथमिकताको आधारमा डिप बोरिङ वितरण गरिने आयोजना प्रमुख केसीले बताए। ‘डिप बोरिङ माग गर्नका लागि ३५ बिघा क्षेत्रफल जमिनको लालपुर्जा र वडाको सिफारिस लिएर आउनुपर्छ’, उनले भने, ‘डिप बोरिङमा पानी आउने सम्भावित अवस्था छ कि छैन अनुगमन गरेर, आवश्यकता पहिचान गरी प्रक्रियामा जान्छौँ ।’ किसानबाट डिप बोरिङको माग धेरै हुने तर स्रोतसाधनको सीमितताका कारण सबैलाई उपलब्ध गराउन सक्ने अवस्था नरहेको उनले बताए।