काठमाडौं- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आइतबार १०औँ प्रि–आर्टिकलसिप अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। यो कार्यक्रम हालै सम्पन्न भएको चार्टर्ड एकाउन्टेन्ट (सीए) परीक्षा–क्याप २ तह उत्तीर्ण गरेका विद्यार्थीहरूलाई लक्षित गरेर आयोजना गरिएको हो। संस्थानका अनुसार कार्यक्रमको उद्देश्य परीक्षामा सफल भएका विद्यार्थीलाई दर्ता प्रशिक्षण सम्बन्धी आवश्यक जानकारी दिनु र क्याप ३ तहमा दर्ता प्रक्रियाबारे मार्गदर्शन गरेका थिए ।
कार्यक्रमको प्रारम्भमा संस्थाका कार्यकारी निर्देशक सीए विमल डंगोलले सहभागीलाई स्वागत गर्दै सफलतापूर्वक उत्तीर्ण भएका सबैलाई बधाई ज्ञापन गरेका थिए। संस्थाका अध्यक्ष सीए निलबहादुर सारु मगरले भने, ‘यो यात्रा कुनै अन्त्य होइन, नयाँ सुरुआत हो। अझ कडा मेहनतका लागि तयार रहनुपर्छ,‘भन्दै संस्थाको सदस्य भएपछि प्राप्त हुने अवसरबारे जानकारी दिएका थिए ।
संस्थाका उपाध्यक्ष सीए आनन्दराज शर्मा वाग्लेले प्रस्तुत गरेको कार्यपत्रमा प्रशिक्षण अवधिभर प्रशिक्षार्थीले पालना गर्नुपर्ने आचरण, प्रशिक्षक र प्रशिक्षार्थीको भूमिका, लेखापरीक्षण फर्मको अधिकार र कार्यक्षेत्रबारे विस्तृत जानकारी समावेश थियो। उनले व्यावसायिक वातावरण, अडिट फर्मको कार्यप्रणाली, आचरण, जिम्मेवारी र ग्राहकसँगको व्यवहारबारे पनि प्रकाश पारे।
त्यस्तै, शिक्षा महाशाखाका सहायक निर्देशक सीए गौरव खतिवडाले प्रशिक्षण सम्झौतासम्बन्धी नीतिगत आधार र प्रक्रियाबारे प्रस्तुतीकरण दिए । प्रशिक्षक राजन कोइरालाले प्रशिक्षण अवधिमा आवश्यक सञ्चार सीप, शिष्टाचार र व्यावसायिक आचरणबारे आफ्ना विचार राखे।
कार्यक्रमका क्रममा आइक्यानद्वारा आयोजित निबन्ध प्रतियोगिताका विजेता तथा उपविजेता क्याप ३ तहका विद्यार्थीलाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो। सो अवसरमा सीए राजु गजुरेलले सूचना प्रविधिमा तीव्र परिवर्तन भएकाले लेखा क्षेत्रमा पनि त्यहीअनुसार अद्यावधिक हुनुपर्ने आवश्यकता औल्याए । उनले आउटसोर्सिङका विश्वव्यापी अवसरबारे जानकारी दिएका थिए ।
अन्त्यमा संस्थाका पार्षद् तथा बोर्ड अफ स्टडिजका सदस्य सीए उमेशराज पाण्डेयले धन्यवाद ज्ञापन गर्दै जीवनका हरेक पाटोमा प्रभावकारी सञ्चार सीपको महत्त्वबारे जोड दिए । साथै, आर्टिकलसिप प्रशिक्षणलाई सिकाइको अवसरका रूपमा लिन विद्यार्थीहरूलाई सुझाए ।



About Us
प्रतिक्रिया