भन्सार छली भेप आयात गरेको आरोपमा २० करोड बढी बिगो माग गर्दै शिल्क ग्रुपका सञ्चालकविरुद्ध मुद्दा दर्ता


काठमाडौं – ललितपुरको महालक्ष्मी नगरपालिका, वडा नम्बर ४ शितलहाइटस्थित गोदामबाट भन्सार चोरी पैठारी गरी लुकाई छिपाई राखिएको ८६ हजार ४ सय थान इलेक्ट्रोनिक सिगरेट (भेप) बरामद प्रकरणमा राजस्व अनुसन्धान विभागले ठुलो मात्राको बिगो कायम गर्दै अभियोग पत्र दायर गरेको छ ।

२०८१ पुस २२ गते ललितपुर महालक्ष्मी नगरपालिका–४ स्थित शितलहाइटमा रहेको गोदाममा विभागको टोलीले छापा मार्दा उक्त भेप बरामद भएको थियो । सोही प्रकरणमा थप अनुसन्धानपछि विभागले सिल्क ग्रुप प्रालिका अध्यक्ष रमेश शेर्पा, विजय शेर्पालगायत १० जनालाई मुख्य प्रतिवादी र महेश प्रसाद पाठकसहित २ जनालाई मतियार कायम गरी ललितपुर जिल्ला अदालत, लगनखेलमा अभियोग पत्र दायर गरेको हो ।

अनुसन्धानबाट प्रतिवादी रमेश शेर्पा र विजय शेर्पाले प्रमुख भूमिका खेलेको पुष्टि भएको विभागले जनाएको छ । उनीहरूले भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको पाइएपछि राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ बमोजिम २० करोड १५ लाख ४८ हजार बराबरको बिगो कायम गरिएको छ । सो बराबरको भेप जफत गरी सोही रकम बराबर जरिवाना र हदैसम्मको कैद सजायको मागदाबी गरिएको विभागको दाबी पत्रमा उल्लेख छ ।

त्यसैगरी, सिल्क ग्रुप अन्तर्गतका विभिन्न प्रालिहरूले ३८ हजार ९२४ थान भेप बिना बिल बिक्री गरेको, ३ लाख १६ हजार ३१५ थान भेप भन्सार चोरी पैठारी गरेर नक्कली कारोबार देखाई मौज्दात मिलाएको तथा मूल्य अभिवृद्धि कर ९मूअकर० चुहावट गरेको तथ्यसमेत अनुसन्धानले देखाएको छ ।

यसरी प्रतिवादी समूहमाथि जम्मा ८७ करोड ३१ लाख २३ हजार ८२८.५० को बिगो कायम गरी त्यसको शतप्रतिशत जरिवाना सहित जम्मा १ अर्ब ७४ करोड ६२ लाख ४७ हजार ६५७ माग गरिएको छ । साथै, मुख्य प्रतिवादीहरूलाई हदैसम्मको कैद सजाय र मतियारहरूलाई आधा सजायको माग गरिएको छ ।