बढ्यो राष्ट्रिय वाणिज्य बैंककाे खुद नाफा, वितरणयोग्य नाफा १.९४ प्रतिशत


काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको नाफामा उल्लेख्य वृद्धि आएको छ । बैंकले आर्थिक वर्ष २०८१/८२ मा नाफा उल्लेख्य वृद्धि गर्दै ३ अर्ब ८१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा बैंकले २ अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । जुन, गत आर्थिक वर्षको तुलनामा १ अर्ब २६ करोडले न्यून हो । यो तथ्यांकले अघिल्लो वर्षको तुलनामा राष्ट्रिय वाणिज्य बैंकको नाफामा उल्लेख्य वृद्धि भएको देखाउँछ ।

यस्तै, बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमासमा नै २ अर्ब ६१ करोड रुपैयाँ नाफा आर्जन गरेको तथ्यांक सार्वजनिक गरेको छ। यही नाफाका आधारमा बैंकको गत आर्थिक वर्षको समग्र नाफामा उछाल आएको हो ।

यसक्रममा बैंकले राज्यकोषमा १ अर्ब ६४ करोड रुपैयाँ कर बुझाएको छ । बैंकले कर तिर्नुअघि ५ अर्ब ३८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो । विभिन्न शीर्षकमा बैंकले १ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी कर तिरेको छ ।

यसबाहेक, बैंकले यस अवधिमा ब्याज आम्दानीमार्फत १० अर्ब ८ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा पनि बैंकले १० अर्ब रुपैयाँ नै ब्याजबाट खुद आम्दानी गरेको थियो । यसाबहेक विभिन्न शूल्क र कमिसनसहित १२ अर्ब ५५ करोड रुपैयाँ आर्जन गरेको थियो ।

कूल १२ अर्ब ८४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको बैंकले विभिन्न शीर्षकको खर्चपछि ४ अर्ब ५ करोड सञ्चालन नाफा आर्जन गरेको छ । बैंकले कर्मचारीका लागि ४ अर्ब ७८ करोड रुपैयाँ खर्च गरेको छ ।

यसबाहेक, अन्य सञ्चालन खर्चाबपत १ अर्ब ३७ करोड रुपैयाँ खर्च हुँदा डिप्रिसियसनबापत ५८ करोड रुपैयाँभन्दा बढी खर्च भएको छ । नाफा बढेपनि बैंकको वितरणयोग्य नाफा भने खुम्चिएको छ । यस अवधिमा बैंकको वितरणयोग्य नाफा ३० करोड रुपैयाँ कायम छ । जुन, १.९४ प्रतिशत लाभांश वितरणका लागि ठिक हुन्छ ।