गुल्मीमा डहरे खोलामा आएको बाढीले कार बगायो


बुटवल – गुल्मीको डहरे खोलामा आएको बाढीले एउटा कार बगाएको छ । सत्यवती गाउँपालिका वडा नम्बर–६ उर्लीखोलास्थित डहरे खोलामा आएको बाढीले बीएए ००१७ नम्बरको कार बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।

मंगलबार दिउसो शान्तिपुरबाट बुटवलतर्फ आउँदै गरेको कार डहरे खोलामा फसेको थियो । फसेको कार तान्न लाग्दा खोलामा आएको बाढीले बगाएको प्रहरीले जनाएको छ । खोलाले बगाउँदा कारमा क्षति पुगे पनि मानवीय क्षति भने नभएको प्रहरी नायब उपरीक्षक सारुले बताए । पक्की पुलको अभावले यस क्षेत्रका नागरिकले वर्षौँदेखि सास्ती खेप्दै आएका छन् ।

यस्तै, लगातारको वर्षाका कारण पहिरो जाँदा मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक बन्द भएको छ । उक्त सडकअन्तर्गत रुरु क्षेत्र गाउँपालिका–३ बाख्रे भीरमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

मंगलबार बिहानदेखि अवरुद्ध भएको कालीगण्डकी कोरिडोर, रिडी–वामीटक्सार र रिडी–खज्र्याङ सडक सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक सारुले बताए ।

तीन दिनदेखि गुल्मीसहित आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । बाढी र पहिरोको जोखिम बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।