पहिलो पटक ‘महिला प्रहरी’ सम्मेलन गर्दै नेपाल प्रहरी 


काठमाडौं – नेपाल प्रहरीले पहिलो पटक महिला प्रहरी सम्मेलन आयोजना गर्न लागेको छ । महिला प्रहरीको क्षमता सबलीकरण र महिलामैत्री सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले सम्मेलन गर्न लागिएको हो। प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) विनोद घिमिरेका अनुसार सम्मेलन आगामी भदौ ५ र ६ गते काठमाडौंमा हुने तयारी भइरहेको छ । यद्यपि औपचारिक घोषणा भने भइसकेको छैन।

हाल आन्तरिक रूपमा आवश्यक तयारीहरू अघि बढाइँदै गरिएको उनले बताए । देशभर कार्यरत सबै तहका महिला प्रहरीहरूलाई काठमाडौंमा भेला गराई सम्मेलन आयोजना गरिनेछ । सम्मेलनमा महिला प्रहरीहरूको पेसागत सशक्तीकरण, नेतृत्व क्षमता विकास, कार्यस्थलमा समानता र समावेशिता लगायतका विषयमा छलफल गरिने बताइएको छ।

यस सम्मेलन नेपाल प्रहरीको लैङ्गिक नीति बारे छलफल गरिने प्रवक्ता घिमिरे बताउँछन् । उनकाअनुसार महिला प्रहरी  कर्मचारीहरूको जीवन विज्ञान र आर्थिक सबलीकरण गर्नुका साथै व्यवसायी सिप, विकास क्षेत्रमा नेतृत्व विकासका उद्देश्यले यस सम्मेलन आयोजना गरिएको छ ।  प्रहरीका अनुसार सम्मेलनले महिला प्रहरीहरूलाई आफ्नो अनुभव, चुनौती र सफलताहरू साझा गर्न अवसर दिनेछ। साथै, महिलामैत्री प्रहरी सेवा प्रवाहका लागि नीति निर्माणमा समेत सम्मेलन उपयोगी हुने विश्वास लिइएको छ।

नेपाल प्रहरी संगठनमा कार्यरत महिला प्रहरीहरूको सङ्ख्या पछिल्ला वर्षहरूमा बढ्दै गएको छ। तर, अझै पनि नेतृत्व तहमा महिला प्रतिनिधित्व न्यून छ। यस्तो सम्मेलनले नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म लैङ्गिक समावेशितालाई सशक्त बनाउन सघाउ पुग्ने विश्वास गरिएको छ।  यस  सम्मेलनमा पहिलो महिला प्रहरी चैत्यमाया डङ्गोल पनि सहभागी हुनेछिन् ।  हाल महिला प्रहरीको सङ्ख्या १२ प्रतिशत पुग्नुका साथै केही सङ्ख्यामा विशिष्ट तहमा समेत महिला पुगिसकेका छन्। यो सम्मेलन नेपाल प्रहरीको इतिहासमै पहिलो पटक आयोजना गर्न लागिएको महिला प्रहरी सम्मेलन हो।