किर्ते कागजात र नक्कली छापसहित दुई जना पक्राउ


काठमाडौं –  काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं.१२ मा वडा कार्यालयको लेटरप्याड, छाप र वडा अध्यक्षको सहीसमेत किर्ते गरी नक्कली कागजात बनाएको अभियोगमा दुई जना पक्राउ परेका छन्। पक्राउ परेकामा गोरखा सहिद लखन गाउँपालिका वडा नं.१ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ३१ नयाँबानेश्वर शङ्खमुलस्थित ‘गज्जबको फोटो कपी एण्ड स्टेसनरी सेन्टर’ सञ्चालन गर्दै आएका ४१ वर्षीय किरण अर्याल र धुलिखेल नगरपालिका वडा नं. १२ निवासी ३८ वर्षीय जितेन्द्र तामाङ रहेका छन्।

गत साउन १२ गते बिहान १० बजे प्रहरीको टोलीले विशेष सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा धुलिखेल वडा नं.१२ को वडा कार्यालयको किर्ते लेटरप्याड, वडा अध्यक्षको वडा अध्यक्ष लेखिएको छापसहित विभिन्न संघ–संस्थाका २६ थान नक्कली छाप, नगद ६८ हजार ७ सय ७० रूपैयाँ, विभिन्न मुलुकका नोट १४ थान, नागरिकता २ थान, पासपोर्ट, संघ–संस्थाका कागजातहरू, ११ थान पेन ड्राइभ,  हार्ड ड्राइभ र अन्य प्रमाणहरू समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।

दुवैजनालाई किर्ते कागजात बनाई हिँड्ने र प्रयोग गर्ने गरेको ठहर गर्दै साउन १२ गतेदेखि लागू हुनेगरी लिखत सम्बन्धी कसुर (सरकारी छाप दस्तखत किर्ते) अन्तर्गत काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ५ दिनको म्याद थप स्वीकृति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

यस घटनाले किर्ते कागजात र नक्कली छाप प्रयोग गरी हुने सम्भावित ठगी तथा अवैध कारोबारमा प्रहरीले थप निगरानी गर्ने जनाएको छ।