काठमाडौं – अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत चितवनमा ‘मानव बेचबिखनको बदलिँदो अवस्था तथा रोकथामका लागि सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीले आइजिपी दिपक थापालाई चितवनमा स्वागत गरेका छन् ।

यस अवसरमा थापाले चितवन जिल्ला प्रहरी कार्यालयको आन्तरिक तथा बाह्य निरीक्षण गरेका हुन् । उनले निरीक्षणका क्रममा कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई समसामयिक सुरक्षा चुनौती, जनसेवा र कर्तव्य पालनाका विषयमा आवश्यक निर्देशन दिएका छन् ।

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्धको दिवसको अवसरमा भरतपुर महानगरपालिका वडा नं. १० हाकिमचोकस्थित सीएमटी होटलमा २०८२ साउन १४ गते आयोजित उक्त कार्यक्रममा नेपाल प्रहरीका आईजीपी थापाले प्रमुख आतिथ्य ग्रहण गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अरुण पौडेल, विभिन्न सिनियर प्रहरी अधिकृत, नेपाली सेना, सशस्त्र प्रहरी बल, चितवन जिल्लाका स्थानीय निकाय प्रमुखहरू, सरकारी तथा गैरसरकारी सङ्घ–संस्थाका प्रतिनिधिहरू, राजनीतिक दलका पदाधिकारीहरू, आमा समूह, टोल विकास समिति पदाधिकारीहरू र पत्रकारसहित करिब ३०० जनाको उल्लेखनीय उपस्थिति रहेको थियो।

साझा अभियान चितवनको आयोजनामा नेपाल प्रहरीको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी वर्तमान अवस्थाका चुनौतीहरू र त्यसको नियन्त्रण तथा रोकथाममा सरोकारवालाको भूमिकाका बारेमा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि आईजीपी थापाले मानव बेचबिखन जस्तो जघन्य अपराध नियन्त्रणमा प्रहरी मात्र नभई सबै सरोकारवाला, समुदाय र प्रत्येक नागरिकको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै प्रहरी सङ्गठन यस विषयमा अझ सक्रिय र जिम्मेवार ढङ्गले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रमले मानव बेचबिखन विरुद्ध जनचेतना अभिवृद्धि गर्ने, समन्वयात्मक कार्यशैली विकास गर्ने र स्थानीय स्तरमा अपराध न्यूनीकरणमा साझा प्रयासलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।



About Us
प्रतिक्रिया