भोटेकोसीमा बाढीको वितन्डाः बीमा कम्पनीमा पर्‍यो ८४ करोड दाबी


काठमाडौं – यही वर्षको असार २३ गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण बीमा क्षेत्रमा ठुलो प्रभाव परेको छ । बीमा कम्पनीहरूमा सो बाढीबाट भएको क्षतिका कारण ८४ करोड रुपैयाँभन्दा बढीको दाबी परेसँगै कम्पनीहरू प्रभावित बन्ने भएका हुन् । चीनको हिमताल फुटेर आएको आकस्मिक बाढीका कारण भोटेकोसी आसपास निर्मित सबैजसो संरचनामा क्षति पुगेको थियो । विषेशगरी रसुवा र नुवाकोटका तटीय क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनामा पूर्ण र आंशिक क्षति पुग्यो ।

जसबाट ११ निर्जीवन बीमा कम्पनीमा ८४ करोड ३८ लाख रुपैयाँको दाबी परेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार कम्पनीहरूमा कुल ६८ वटा बीमा दाबी परेको छ । हरेक वर्ष बीमा क्षेत्रमा निर्जीवन बीमा कम्पनीहरूले वर्षायाम सुरु हुन साथ र बेमौसमी वर्षा पर्नसाथ डराउनु पर्ने अवस्था छ । यो वर्षमा पनि रसुवामा गएको बाढीका कारण कम्पनीहरूमा भार परेको छ । हरेक वर्षको जलवायु परिवर्तनबाट हुने क्षतिको कारण बीमा कम्पनीहरूले भार बोकिरहनु परेको छ । बीमा क्षेत्रमा ‘क्लाइमेट रिस्क’ मूल्याकंनमा निरन्तर चुनौती थपिएको छ ।

प्राकृतिक प्रकोपहरूको तीव्रता र अनिश्चितताले जोखिम व्यवस्थापन र बीमा पोलिसीको मूल्य निर्धारण गर्न जटिल बन्दै गइरहेको छ । नेपालको सन्दर्भमा जलवायु परिवर्तनबाट हुने क्षतिलाई पूर्वानुमान गरी त्यस्तो समस्याको सामना गर्ने कुनै पनि तयारी नहुँदा पनि सधैँ जसो बीमा क्षेत्रमा ठुलो जोखिमभारको चुनौती थपिँदै जाने गर्छ ।

बीमा प्राधिकरणको कार्यकारी निर्देशक शुशीलदेव सुवेदी यो वर्ष बाढी पहिरोको कारण बीमा क्षेत्रमा अझै भार थपिने जोखिम रहेको बताउँछन् । तर, यो सबैको लागि पूर्णरुपमा पूर्व योजना नरहे पनि सबै किसिमको दाबीको लागि ढिलाइ नगर्ने सुनिश्चित पनि गरेका छन् । हरेक वर्ष बीमा क्षेत्रमा ठूलो मूल्यको भार परिरहेको हुन्छ । बीमा कम्पनीहरूले यस्तो समस्याको लागि पूर्व योजना बनाउन पनि आवश्यक रहेको उनको भनाइ छ ।

यो वर्ष मनसुनको प्रभाव अपेक्षाकृत रूपमा बढी हुने अनुमान गरिएको छ । जसले बीमा कम्पनीहरूको जोखिम व्यवस्थापन रणनीतिमा चुनौती थप्ने छ । मनसुनजन्य क्षतिको यो स्तरले बीमा कम्पनीहरूको वित्तीय स्थिरतामा गम्भीर असर पार्न सक्ने बीमा विज्ञ राजूरमण पराजुली बताउँछन् । उनी भन्छन्, ‘यो वृद्धिले कम्पनीहरूको पुनर्बीमा लागत बढाउनेछ । जसले प्रिमियम दरमा समेत प्रभाव पार्न सक्छ ।’ कम्पनीहरूले जोखिम न्यूनीकरणका लागि नयाँ प्रावधान र प्रिमियम समायोजनको तयारी गर्नुपर्ने उनको भनाई रहेको छ । बीमा कम्पनीहरूले मनसुनजन्य जोखिमलाई सम्बोधन गर्न विशेष बीमा प्याकेजहरू ल्याउने तयारीमा रहे पनि प्रभावकारी नतिजा भने आएको छैन ।

कुन कम्पनीमा कति दाबी ?

हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा दुई वटा बीमा दाबी बापत ५५ करोड रुपैयाँको दाबी परेको छ । शिखर इन्स्योरेन्समा १२ वटा दाबी बापत १६ करोड ८५ लाख रुपैयाँ र नेको इन्स्योरेन्समा ३ वटा दाबी बापत पाँच करोड १२ लाख रुपैयाँको बीमा दाबी परेको छ । 

त्यस्तै, युनाइटेड अजोड इन्स्योरेन्समा ३ वटा दाबी बापत ९१ लाख रुपैयाँ र सगरमाथा लुम्बिनी इन्स्योरेन्समा दुई वटा दाबी बापत दुई करोड ६५ लाख रुपैयाँ दाबी परेको छ । नेपाल इन्स्योरेन्समा १२ वटा दाबी बापत एक करोड २८ लाख रुपैयाँ, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्समा नौ वटा बीमा दाबी बापत ७५ लाख ५० हजार रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ ।

सानिमा जिआइसी इन्स्योरेन्समा ६ वटा दाबी बापत ७५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्समा ६ वटा बीमा दाबी बापत ४७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ६ वटा दाबी बापत ३१ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्समा २८ लाख रुपैयाँको प्रारम्भिक बीमा दाबी परेको छ ।