काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने समय थप भएको छ । कम्पनीले असार २५ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ४२ प्रतिशत हकप्रद शेयरमा अब साउन २० गतेसम्म आवेदन दिन सक्ने भएको हो ।
कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ४।२ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गरेको छ । यसअनुसार कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्कासनमा ल्याएको छ।
हकप्रद शेयर निष्कासनका लागि कम्पनीले जेठ १६ गते बुक क्लोज गरेको थियो । यस अनुसार जेठ १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।
शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, पोखरा–चिप्लेढुङ्गा, नेपालगन्ज, सुर्खेत, धनगढी, महेन्द्रनगर र बुटवल शाखा कार्यालय तथा एशियन लाइफ इन्स्योरेन्सको कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।





About Us
प्रतिक्रिया